प्रधानमन्त्री कपः उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्ने

प्रधानमन्त्री कपः उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्ने


इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुने भएको छ ।

इटहरीको जनता पार्कमा शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को खेलमा प्रदेश १ ले विभागीय टोली एपिएफलाई ८ विकेटले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो । यससँगै विभागीय टोली एपिएफ पहिलो पटक प्रधानमन्त्री कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाउने क्रममा सुदूरपश्चिम प्रदेशले शुक्रवार मधेस प्रदेशमाथि १  सय १४ रनको फराकिलो जित निकालेको हो । 

सुदूरपश्चिमले दिएको १ सय ८१  रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ६६ रन जोड्नसक्यो । मधेसका लागि ओपनर एलिसा यादव, सिमा कुँवर र प्रतिमा साहले दोहोरो अंकको स्कोर गर्नु बाहेक अन्यले राम्रो स्कोर छुन सकेनन् । प्रतिमाले सर्वाधिक १९ रन जोड्दा, सिमाले १६ र एलिसाले १४ रन जोडेका हुन् । 

मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका मनिष चौधरी र रितु कोनुजियाले समान २/२ विकेट निकाल्दा कविता कुँवर र स्नेहा महराले १/१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै २० ओभरमा दुई विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनरद्वय विन्दु रावल र कविता कुँवरले अर्धशतकीय पारी खेले । कविताले ५४ बलमा १२ चौका र १ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाउँदा अविजित रहेकी  विन्दुले ५२ बलमा ९चौका मद्दतमा अविजित ६० र कविता जोशीले १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडिन् । विन्दुले पहिलो विकेटका लागि कविता कुँवरसँग १ सय २८ तथा दोस्रो विकेका लागि कविता जोशीसँग ५२ रनको साझेदारी गरेकी थिइन् । 

दुई विकेट निकाल्ने क्रममा मधेसका लागि भूमि सिंह र सान प्रविनले समान एक विकेट लिए ।

यस्तै, शुक्रवार नै सम्पन्न दिनको  दोस्रो सेमिफाइनलमा खेलमा साविक विजेता एपिएफ प्रदेश १ सँग ८ विकेटले स्तब्ध बन्यो । एपिएफले प्रश्तुत गरेको ४६ रनको झिनो लक्ष्य प्रदेश १ ले ९ ओरभमा दुई विकेटको क्षतिमा भेटाउँदै सुदूरपीश्चमसँगको भेट पक्का गरेको हो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० तथा काजल श्रेष्ठ र अप्सरी बेगमले समान ९/९ रन जोडे । बलिङतर्फ एपिएफका लागि नेरी थापाले एक विकेट लिइन भने एक खेलाडी रन आउट हुन पुगेकी थिइन् ।

यसअघि टस जितेर ब्याटिङ थालेको विभागीय टोली १३.४ ओभरमा  सबै विकेट गुमाउँदै ४५ रनको झिनो योगफल तयार पारेको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । 

प्रदेश १ का लागि संगीता  राई र अलिशा खडियाले समान ३/३ तथा तथा सबनम राईले दुई विकेट लिँदा दुई खेलाडी रन आउट हुन पुगेका थिए । 

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । 

Logo