मलेसियाले ३१ हजार कामदारको मागको प्रमाणीकरण गर्‍यो

मलेसियाले ३१ हजार कामदारको मागको प्रमाणीकरण गर्‍यो


मलेसियास्थित नेपाली दूतावासले गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार नेपाली कामदारका लागि मागपत्र प्रमाणीकरण गरेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार नयाँ श्रम समझदारी अनुसार प्रदान गरिएको मागपत्र प्रमाणीकरणमा सवैभन्दा धेरै औद्योगिक क्षेत्रका लागि छ ।

दूतावासद्वारा जारी विज्ञप्ति अनुसार औद्योगिक क्षेत्रको कामका लागि १७ हजार १ सय १६ जना कामदारका लागि मागपत्र प्रमाणित भएको छ ।

यसैगरी सेक्यूरिटि गार्ड सहित सेवा क्षेत्रका लागि १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लान्टेसनका लागि १ हजार ३ सय ९७ तथा निर्माण क्षेत्रका लागि १ हजार ३० कामदारको मागपत्र प्रमाणीकरण भएको छ ।

दूतावासले मागपत्र प्रमाणीकरणको कामलाई सरल, पारदर्शी र चुस्त बनाउने उद्देश्यले प्रत्येक प्रक्रियामा छुट्टा छुट्टै शाखा तथा कर्मचारी संलग्न हुने व्यवस्था गरेको जनाएको छ ।

दूतावासका अनुसार कम्पनीको मालिक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन व्यवस्थापक स्वयं उपस्थित भई मागपत्र १० देखि १२ बजेसम्म दूतावासमा पेश गर्ने, पेश हुन आएका मागपत्रहरुको विवरण रुजु गर्ने, अद्यावधिक गर्ने र प्रमाणीकरणको पत्र तयार गर्ने गरिएको छ । माग प्रमाणीकरणका आधारमा मलेसिया आउने श्रमिकको संख्या बढ्ने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताएका छन् ।

यसैगरी मागपत्र पेश गर्ने कम्पनी सम्बन्धी दूतावासमा आएका गुनासा लगायतका कैफियतहरूको रुजु गरी प्रमाणीकरणको लागि सिफारिस गर्ने, प्रमाणीकरणको लागि सिफारिस भएका मागपत्रहरुको प्रमाणीकरण गर्ने र स्क्यान गरी वैदेशिक रोजगार विभागमा ईलेक्ट्रोनिक फाइल पठाउने, प्रमाणीकरण भएका सक्कल फाइलहरू २ बजेदेखि ५ बजेसम्म वितरण गर्ने र सक्कल फाइल बुझ्नका लागि कम्पनीको कर्मचारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

समयका कारण अत्यावश्यक मागपत्रलाई एक दिनमै र अन्यलाई ५ दिनभित्रमा मागपत्र प्रमाणीकरणको कार्य सक्नेगरी कार्य भइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :-

Logo