कोरोना महामारी नियन्त्रणमा चुकेको सार्क (भिडियाेसहित)

कोरोना महामारी नियन्त्रणमा चुकेको सार्क (भिडियाेसहित)


काठमाडौं ।

विश्वभर कोरोना भाइरसको प्रभाव बढिरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिनाअघि कोभिड–१९ विरुद्ध एकजुट भएर शसक्त रणनीति बनाउन सार्क सदस्य राष्ट्रका राष्ट प्रमुखसामु प्रस्ताव गरेका थिए ।

भारतको प्रस्ताव दक्षिण एशियाली क्षेत्रका अन्य सदस्य राष्ट्रले स्वागतमात्र गरेनन्, यो क्षेत्रको शक्ति मुलुक भारतसंगै यो रणनीतिको साझेदार बन्ने सहर्ष स्विकारे । मोदीले सार्क क्षेत्रमा भारतले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन लागेको र त्यसमा सबै सदस्य राष्ट्रको सहयोग मिलेको भन्दै ट्वीटमार्फत बाकी विश्वलाई जानकारी गराए ।

भारतले अघि सारेको यो रणनीतिले सार्क क्षेत्रमा कोरोना भाइरसविरुद्ध लड्न सहज हुने भन्दै साना मुलुक नेपाललगायत मालदिभ्स, श्रीलंका, भुटानका सरकार प्रमुखले समेत ट्वीटमार्फत नै उत्साह ब्यक्त गरे । सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीको विचारको स्वागत गर्दै सार्क सदस्य मुलुकहरु एकवद्ध भएर यो क्षेत्रका नागरिकको सुरक्षाको लागि काम गर्न तयार रहेको जानकारी दिए ।

यसपछि भारतकै अगुवाईमा गत मार्च १५ का दिन आयोजना गरिएको सार्क राष्ट्र प्रमुखहरुको भर्चुअल बैठकमा पनि साझा रणनीति बनाएर कोरोना महामारीविरुद्ध लड्ने सहमति बन्यो । महामारीविरुद्धको लंडाइमा मोदीको प्रस्तावलाई भर्चुअल बैठकमै सबै सदस्य राष्ट्र प्रमुखले समर्थन जनाए ।

मोदीले बैठकमा कोरोनाविरुद्धको लंडाईमा सार्क राष्ट्र स्तरिय आपत्कालिन कोषको स्थापना गर्ने र उक्त कोषमा एक करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरे । सार्कका अन्य सदस्य राष्ट्रहरुले आफ्नो क्षमता अनुसार उक्त कोषमा रकम थप्ने प्रतिवद्धता जनाएका थिए । त्यसमा नेपालले दश करोड रुपैंया सहयोग गर्ने घोषणा गरेको थियो ।

 

Logo