निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : आयोग

निर्वाचनको रकेट प्रक्षेपण भइसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : आयोग


स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ। वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनौटमा केन्द्रित छन्। केन्द्रमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर उम्मेदवार छनौट कार्यमा जुटिरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धमाधम उम्मेदवार छनौट कार्य गरिरहेको छ।

निर्वाचन नजिकिँदै गर्दा तोकिएकै मितिमा निर्वाचन हुन्छ कि हुँदैन भनेर अनेक आशंका पनि जन्मिएका छन् । सत्ता गठबन्धनका केही नेताले अहिले निर्वाचन हुन नसक्ने आशयका भाषा पनि प्रयोग गरिरहेका छन् । जति निर्वाचन नजिकिँदै छ उति निर्वाचन सर्छ भन्ने आशयका कुराहरू पनि आइरहेका छन् । 

निर्वाचन गराउने निकाय निर्वाचन आयोगले भने निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले अब कुनैपनि बहानामा निर्वाचन नरोकिने बताउँदै आएको छ । तर, अहिले पनि केही पार्टीका नेताहरू निर्वाचन नहुनेमा ढुक्क छन्। उनीहरू अहिलेको अवस्थामा निर्वाचन हुन सक्ने सम्भावना नभएको दाबीसमेत गर्दै आएका छन् ।

स्थानीय निर्वाचनका बारेमा दलहरूको बीचमै अन्यौल कायम रहेको सन्दर्भमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग अत्यन्त नजिक रहेका ज्योतिष सुरेशचन्द्र रिजाल यो मितिमा निर्वाचन हुन सक्ने सम्भावना रहेको बताएका छन्। 'वैशाख १ गतेदेखि वैशाख ९ गतेको बीचमा ग्रहहरूको नकारात्मक योग (गठबन्धन) बनिरहेकाले यो बिचमा निर्वाचन सम्बन्धी गतिविधिहरू गर्दा विशेष साबधानी अपनाउनु पर्नेछ', प्रधानमन्त्रीका ज्योतिष रिजालले भने, 'ग्रहहरूको गठबन्धनले नकारात्मक योगहरू निर्माण भएकाले यी योगहरूले चुनाव सर्न सक्नेसम्मको योग निर्माण भएको वा चुनावै स्थागित हुनसक्ने सम्भावना रहेको छ। त्यसैले सचेतता, साबधानी अपनाउनु पर्नेछ ।'

निर्वाचन रोक्न खोजे दुर्घटना हुन्छः थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया कुनैपनि हालतमा निर्वाचन नरोकिने बताउँछन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन सर्न सक्ने वा रोकिने सम्भावना के छ भनेर सोधेको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग कुनैपनि दुर्घटनाको पक्षमा नरहेको स्पष्ट पारे । त्यस्तो कार्यतर्फ नलाग्नसमेत सबैलाई उनले आग्रह गरे। 'आजको दिनमा निर्वाचनको गाडी गुडेको होइन । गाडी गुडेको भए ब्रेक लगाउन मिल्थ्यो । निर्वाचनको प्लेन उडेको पनि होइन । प्लेन मात्रै उडेको भएपनि त्यो प्लेनलाई अलि नजिकैको एअरपोर्टमा मोड्न मिल्थ्यो', थपलियाले भने, 'आजको अवस्था भनेको निर्वाचनको रकेट प्रक्षेपण भएको हो। त्यो रकेट प्रक्षेपण भइसकेपछि त्यसले एउटा गन्तव्य तोकेको हुन्छ । त्यसलाई यताउति पार्नु भनेको दुर्घटना हुनु हो ।'

'आजको दिनमा निर्वाचनको गाडी गुडेको होइन । गाडी गुडेको भए ब्रेक लगाउन मिल्थ्यो । निर्वाचनको प्लेन उडेको पनि होइन । प्लेन मात्रै उडेको भएपनि त्यो प्लेनलाई अलि नजिकैको एअरपोर्टमा मोड्न मिल्थ्यो'

थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले त्यसलाई रोक्न खोजे दुर्घटना हुने बताए । निर्वाचन आयोग कुनैपनि किसिमका दुर्घटनाको पक्षमा नरहेको स्पष्ट पार्दै उनले निर्वाचनको रकेट गन्तव्यमा नपुगिकन तलमाथि यताउति गर्न नसकिने बताए । 

निर्वाचन सार्नुपर्ने कुनै कारण छैनः डा. आचार्य 
संविधानविद् डा. भिमार्जुन आचार्य वैशाख ३० गते हुन गइरहेको निर्वाचन रोक्ने कुनै कारण नभएको बताउँछन् । संविधानले कार्यकाल पूरा भएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरेको बताउँदै उनले त्यस्तो कुनै राष्ट्रिय संकट नै आएको अवस्थामा मात्र ६ महिना पर सार्न सकिने बताए । तर अहिले त्यस्तो ठूलो कुनै कारण नभएकाले निर्वाचन सार्ने अवस्था नरहेको उनको भनाइ छ। 'कार्यकाल पुरा भएको ५ वर्ष बढीमा ६ महिना परसम्म निर्वाचन सार्न सकिने संवैधानिक व्यवस्था छ। यदि त्यस्तो भएमा ६ महिना परसम्म सार्न कुनै आपत्ति देखिँदैन', संविधानविद् आचार्यले भने, 'अन्य अवस्थामा निर्वाचन सार्न सकिँदैन । अहिले त्यस्तो कुनै ठूलो समस्या पनि देखिँदैन । निर्वाचन सार्दा पनि कारण त चाहिन्छ । उहाँहरूले अहिले कुनै कारण दिन सक्नुहुन्छ जस्तो लाग्दैन ।' 

अहिले निर्वाचन हुँदैन
सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीका एक नेता भने वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन नहुने तर्क गर्छन् ।

संविधानमा पाँच वर्ष पूरा भएपछि मात्रै निर्वाचन हुने व्यवस्था भएकाले अहिले तोकिएको मितिमा निर्वाचन हुन नसक्ने उनको तर्क छ । अहिलेको स्थानीय तहको निर्वाचन रोकेर आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने उनको दाबीसमेत छ। 'अहिले स्थानीय तहको निर्वाचन हुँदैन। निर्वाचन नभएपछि अहिलेका पदाधिकारीको कार्यकाल समाप्त हुन्छ केही समय कर्मचारीले नेतृत्व गर्छन्', ती नेताले भने, 'संघ र प्रदेशको निर्वाचन मंसिरमा हुन्छ।'

यदि निर्वाचन नभएमा राजनीतिक दलको कारणले नभएर संवैधानिक कारणले मात्रै निर्वाचन नहुने तर्क गरे । ती नेताले भने, 'निर्वाचन नहुने भनेको हाम्रो कारणले होइन संविधानको कारणले हो। असार र असोजमा भएको निर्वाचनको हकमा ५ वर्ष त पुरा हुँदैन । हामीले चाहेर पनि निर्वाचन हुन सक्दैन।'

Logo