खुमलटारमा प्रचण्डको ब्रिफिङ, ‘हामीले भरतपुर पाइसक्यौँ, एसले धेरै उपमहानगर दाबी गर्दा समस्या’

खुमलटारमा प्रचण्डको ब्रिफिङ, ‘हामीले भरतपुर पाइसक्यौँ, एसले धेरै उपमहानगर दाबी गर्दा समस्या’


सत्ता गठबन्धनको महानगर र उपमहानगरपालिका भागबन्डाका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वस्थायी कमिटीका सदस्यहरूलाई ब्रिफिङ गरेका छन्। प्रचण्डको आफ्नै निजी निवास खुमलटारमा मंगलबार भएको बैठकमा गठबन्धनको भागबन्डाबारे ब्रिफिङ गर्दै प्रचण्डले भरतपुर महानगरपालिका माओवादीको भागमा परिसकेको समेत बताएका छन्।

देशभरका ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका माओवादीले पाउने पक्का भएको बताउँदै उनले पोखरा महानगरपालिकाका कारण गठबन्धनमा औपचारिक सहमति हुन नसकेको समेत बताएका छन् । ६ वटा महानगरमध्ये ३ कांग्रेसले लिने र ३ अन्य दलले लिने विषयमा गठबन्धनमा सहमति भइसकेको प्रचण्डले बैठकमा बताएका थिए। काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसलाई, भरतपुर माओवादी, वीरगन्ज जसपाले लिने सहमति भइसकेको उनले बताए।

गठबन्धनमा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भए पनि तलबाट समस्या उत्पन्न भएकाले निर्णय गर्न समस्या भएको समेत प्रचण्डले बताएका छन्। 

‘महानगरमा हामी सहमति नजिक पुगेका छौँ। तर उपमहानगरमा भने अझै मिलिसकेको अवस्था छैन,’ प्रचण्डले बैठकमा भनेका थिए, ‘हामी सकेसम्म मिलेर जाने प्रयासमा छौं। यदि त्यस्तो भएन भने मिलेका ठाउँहरूमा गठबन्धन हुन्छ। नमिलेको ठाउँमा आआफ्नो हिसाबले मित्रवत् प्रतिस्पर्धा हुन्छ।’

प्रचण्डले गठबन्धनमा ११ वटा उपमहानगरमध्ये एकीकृत समाजवादीले धेरै उपमहानगरमा दाबी गरेका कारण अन्यौलता भएको बताएका थिए। एकीकृत समाजवादीलाई हेटौँडा लिन भनिएको भए पनि उसले धरान र दाङमा समेत दाबी गरेको प्रचण्डले बताए । उनका अनुसार एमालेले जितेकामध्ये कम्तीमा आधा उपमहानगर आफूलाई चाहिने एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । 

माओवादीले भने जितपुरसिमरा र दाङका दुईमध्ये १ उपमहानगरपालिका पाउनेसमेत बताए । दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका रहेका छन् । महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा गर्न गठबन्धन दलबीच आज पनि छलफल हुँदैछ।

Logo