‘म झुटो बोलेर जनतालाई धोका दिने पक्षमा छैन’: विष्णुमणि नेपाल (उपमेयर उम्मेदवार, मण्डनदेउपुर)

‘म झुटो बोलेर जनतालाई धोका दिने पक्षमा छैन’: विष्णुमणि नेपाल (उपमेयर उम्मेदवार, मण्डनदेउपुर)


काभ्रेको मण्डनदेउपुर नगरपालिकाको उपमेयरमा हालका नेपाली कांग्रेस नगर उपसभापति एवं वडा नं. १० का निवर्तमान वडाध्यक्ष विष्णुमणि नेपालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् । गएको ०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नं. १० मा विजयी भएका नेपालले यसपटक भने नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । मेयरमा भने एकीकृत समाजवादीका तर्फबाट निवर्तमान मेयर टाेकबहादुर वाइवाले उम्मेदवारी दिएका छन्।

आफ्नो ५ वर्षे कार्यकालमा निकै लोकप्रियता कमाएका नेपाल युवाहरु माझ चर्चामा छन् । उनले आफ्नो कार्यकालमा मण्डनदेउपुरका १२ वटा वडामध्ये १० नम्बर वडालाई विकासका हरेक गतिविधिहरुसँग जोडेका छन्। राजनीतिलाई समाजसेवाको रुपमा अघि बढाउनु पर्छ भन्ने मान्यता राख्ने नेपालले आफूले उपमेयरमा जिते सम्पूर्ण नगरलाई नमूना बनाउन लागिपर्ने बताए । 

विगतमा वडा नं. १० मा उनको सक्रियतामा धेरै राम्रा काम भएका छन् । विकासका हरेका काममा उनकाे नेतृत्वसँगै जनसहभागीता पनि उच्चरूपमा बढेकाे थियाे ।  भूकम्पपछि निजी आवासको पुनर्निर्माणदेखि लिएर एकीकृत वस्ती निर्माण, वडामा भत्किएका ऐतिहासिक मन्दिरहरुको पुनर्निर्माण, भ्युटावर निर्माण, हरितपार्क निर्माण, एक घर एक धारा लगायत आफ्नै पहलमा नमूना अस्पताल निर्माणमा उनको योगदान उल्लेखनिय भएकाे स्थानीयवासीहरूकाे दाबी छ। अस्पताल निर्माणका लागि त उनले आफैंले जग्गा उपलब्ध पनि गराएका छन् । उक्त अस्पताल हाल निर्माणाधिन छ । 

चण्डेनीमण्डनको स्वास्थ्य क्षेत्रमा हालसम्म कसैले नगरेका काम उनको कार्यकालमा भएका छन्। स्वास्थ्य चौकी र अस्पताल निर्माणका साथै विभिन्न समयमा विभिन्न रोगको उपचारका लागि आवश्यक स्वास्थ्य शिविर गाउँ गाउँमा लैजान पनि उनले निकै ठूलो भूमिका निर्वाह गरेको स्थानीयवासीहरु बताउँछन् ।

नेपालको कार्यकालमा यस अघि सिंचाइको क्षेत्रमा पनि उल्लेख्य काम भएका छन्। ठाउँ ठाउँमा सिचाइ ट्यांकी निर्माण, इनारहरुको निर्माण लगायत विभिन्न ठाउँका पुराना कुलाहरु मर्मतमा पनि उनले जनसहभागीतालाई जोड दिएका छन्। ती संरचना निर्माणका लागि बजेटको व्यवस्था पनि गरेका छन् । यस्तै विभिन्न टोलहरुमा खेल मैदानको निर्माण, विद्यालयहरुको सुधार पनि भएका छन् । सुशासन कायम गर्दै दीगो विकासको अवधारणालाई अघि सार्न पनि उनको भूमिका उल्लेखनिय छ। विभिन्न ठाउँमा पुराना र ऐतिहासिक पाटीपौवाको संरक्षणका साथै नयाँ पाटीहरुको निर्माणमा पनि विष्णुमणि नेपालको सक्रियता उच्च छ । 

यस्तै नेपालले सडक निर्माणमा पनि उत्तिकै सक्रियता देखाएका छन् । कोरोना महामारीका कारण अझै थुप्रै योजनाहरु पुरा हुन नसकेकाले अबको कार्यकालमा ती लगायत अन्य नयाँ योजनाहरु अघि बढाउने उनको सोच छ । 

राजनीतिमा आउनुअघि नै उनी समाजसेवामा सक्रिय थिए । ४३ वर्षिय युवा जोश जाँगरले उनमा काम गर्न थप ऊर्जा प्रदान गरेको छ। गाउँमा रेडक्रसको स्थापना गर्नमा पनि उनको अहम भूमिका छ । 

विगतका उच्च नेतृत्व वर्गले राजनीतिको गलत फाइदा उठाएका कारण नागरिकमा वितृष्णा जागेको स्वीकार गर्ने नेपालले अब यस्तो भ्रम चिर्न आफूले काम गरेर देखाउने दाबी गरे । ‘अहिले नागरिक सचेत भइसकेका छन् । युवापुस्तामा नेतृत्व गयो भने आफ्नो ठाउँको मुहार फेरिन्छ भन्ने यहाँका नागरिकले बुझिसकेका छन्। म झुटो बोलेर पछि धोका दिने पक्षमा छैन । जसरी हुन्छ समाजसेवा नै मेरो अन्तिम लक्ष्य हुनेछ।’ नेपालले भने ।

Logo