गठबन्धनबाट प्रमुख/अध्यक्षमा उम्मेदवारी दिने महिला उम्मेदवार

गठबन्धनबाट प्रमुख/अध्यक्षमा उम्मेदवारी दिने महिला उम्मेदवार


आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले ६ महानगर र १ उपमहानगरपालिकामा गठबन्धन गरेको छ। यी बाहेक नगरपालिका र गाउँपालिकाहरूमा पनि स्थानीय आवश्यकता हेरेर पाँच दलले गठबन्धन गरेका हुन्। 

गठबन्धनले ६ मध्ये २ महानगर, ११ मध्ये १ उपमहानगरको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ। त्यस्तै २७६ मध्ये ६ नगरपालिका र ४६० मध्ये ६ गाउँपालिका प्रमुखमा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ । 

यी हुन् गठबन्धनका २ महानगरका महिला उम्मेदवार

गठबन्धनले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सिंहले उम्मेदवारी दिएकी हुन् । उपमेयरमा भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । 

त्यस्तै गठबन्धनले भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई पराजित गरेर मेयरमा निर्वाचित भएकी दाहाल यसपटक पुनः मेयरको उम्मेदवार बेनकी छिन् । गएको निर्वाचनमा पनि भरतपुरमा कांग्रेस र माओवादीले चुनावी गठबन्धन गरेका थिए । यो निर्वाचनमा पनि कांग्रेस माओवादीसहित पाँच दलले चुनावी गठबन्धन गरेका छन् । भरतपुर महानगरको उपमेयरमा भने नेपाली कांग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । 

१.    सिर्जना सिंह – काठमाडौँ महानगरपालिका, काठमाडौँ
२.    रेनु दाहाल – भरतपुर महानगरपालिका, चितवन

गठबन्धनबाट उपमहानगरकाे मेयरमा एक्ला महिला उम्मेदवार

गठबन्धनको तर्फबाट ११ उपमहानगरमध्ये एउटा उपमहानगरमा मात्रै मेयरमा महिलाको उम्मेदवारी परेको छ। हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । 

सत्ता गठबन्धनको तर्फबाट नेकपा एसको भागमा परेको उपमहानगर अन्तर्गत उनी गठबन्धनको साझा उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा लामा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।
 
१.  मीनाकुमारी लामा – हेटौँडा उपमहानगरपालिका, मकवानपुर

यी हुन् गठबन्धनका ६ नगरका महिला उम्मेदवार

महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनले पूर्णरूपमा चुनावी तालमेल गरे पनि नगरपालिका र गाउँपालिकामा भने स्थानीय आवश्यकता र परिस्थिति हेरेर कतै गठबन्धन त कतै एक्ला एक्लै उम्मेदवारी दिएका छन् । जसअन्तर्गत नगर प्रमुखमा गठबन्धन दलका ६ जना महिलाले नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । 

काठमाडौँको टोखा नगरपालिका प्रमुखमा कांग्रेसबाट रजनी थापाको उम्मेदवारी परेको छ । गत स्थानीय निर्वाचनमा उनी सोही नगरपालिकाको उपमेयरमा झिनो मतले पराजित भएकी थिइन् । यसैगरि झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा गठबन्धनबाट रञ्जिता कार्कीले उम्मेदवारी दिएकी छिन्। उनी कांग्रेसकी हुन् । 

यस्तै दैलेखको नारायण नगरपालिकामा कांग्रेसबाट निर्मला खड्काले उम्मेदवारी परेको छ। यसअघि वडा सदस्य रहेकी खड्काले यसपालि भने मेयरको टिकट पाएकी हुन् । 

अछामको पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने मेयरको उम्मेदवार बनेकी छिन्। गएको निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी चलाउने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सह महामन्त्री हुन् । 

यसैगरि डडेलधुराको अमरगढी नगरपालिकाको मेयरमा सङ्गीता भण्डारीले उम्मेदवारी दिएकी छिन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लाको सदरमुकाममा  रहेको नगरपालिकाको प्रमुखमा भण्डारीले गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी हुन् । उनी २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी थिइन्। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीतिर लागेकी थिइन् । 

कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा तारा शाहीले उम्मेदवारी दर्ता गरेकी छिन् । 

१.    रजनी थापा – टोखा नगरपालिका, काठमाडौँ 
२.    रञ्जिता कार्की – अर्जुनधारा नगरपालिका, झापा 
३.    निर्मला खड्का – नारायण नगरपालिका, दैलेख 
४.    अम्बिका चलाउने – पञ्चदेवल विनायक नगरपालिका, अछाम 
५.    सङ्गीता भण्डारी – अमरगढी नगरपालिका, डडेलधुरा
६.    तारा शाही – खाँडाचक्र नगरपालिका, कालिकोट

यी हुन् ६ गाउँपालिकामा गठबन्धनका महिला उम्मेदवार

यसैगरि गठबन्धनमा आबद्ध पाँच दलीय दलहरूको तर्फबाट ६ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । जसअन्तर्गत चितवनको इच्छा कामना गाउँपालिकाको अध्यक्षमा गीता गुरुङले उम्मेदवारी दिएकी छिन्। यस्तै झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फुलमती राजवंशीले उम्मेदवारी दर्ता गरेकी छिन् । गठबन्धनबाट उम्मेदवारी दिएकी उनी नेपाली कांग्रेसकी हुन् । 

यसैगरि कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गिमाया गुरुङले उम्मेदवारी दर्ता गरेकी छिन् । कांग्रेसले यसअघि आनन्द सुवेदीलाई टिकट दिएको थियो । तर कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेर उनलाई मनोनयन दर्ता गर्न रोकेपछि अन्तिम समयमा कांग्रेसले उम्मेदवार परिवर्तन गरेर गिमायालाई दिएको हो । 

यसैगरि दाङको राप्ती गाउँपालिकाको अध्यक्षमा कांग्रेसले जगदम्बा चौधरीलाई उम्मेदवार बनाएको छ भने धादिङको नेत्रावती डबजोङ गाउँपालिका प्रमुखमा माओवादीले उर्मिला तामाङलाई उम्मेदवार बनाएको छ। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् । यस्तै मकवानपुरको बकैया गाउँपालिकामा माओवादी केन्द्रबाट लक्ष्मी माझीको उम्मेदवारी परेको छ ।
 
१.    गीता गुरुङ – इच्छा कामना गाउँपालिका, चितवन
२.    फुलमती राजवंशी – गौरीगञ्ज गाउँपालिका, झापा
३.    गिमाया गुरुङ – रुपा गाउँपालिका, कास्की
४.    जगदम्बा चौधरी – राप्ती गाउँपालिका, दाङ
५.    उर्मिला तामाङ गुरुङ – नेत्रावती डबजोङ गाउँपालिका, धादिङ
६.    लक्ष्मी माझी – बकैया गाउँपालिका, मकवानपुर

Skip This
Logo