नार्पाभूमिको उपाध्यक्षमा एमालेका मिङमारको एकल उम्मेदवारी

नार्पाभूमिको उपाध्यक्षमा एमालेका मिङमारको एकल उम्मेदवारी


मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् ।

उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभुमीको अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।  भने, कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामा र कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिएका छन् ।

एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताए । वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदवारी परेको छ । एमाले समर्थित तर स्वतन्त्रबाट वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याङ्जे लामा र वडा नम्बर ५ को अध्यक्षमा सोनाम तेजे लामाको एकल उम्मेदवारी परेको छ । वडा नम्बर २ मा फुन्जो पासाङ लामा र फुन्चोक बाङ्गे लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा पेम्बा फुन्जो लामा, साङ्बो ठिमी लामा ९महिला० र लाक्पा छेवाङ लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट साङ्गे धावा लामाले उम्मेदवारी दिएका छन् । नार्पाभूमिमा २७ जना जनप्रतिनिधि चुनिनुपर्नेमा २६ जनाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

चार गाउँपालिका रहेको मनाङमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र साथै केही स्वतन्त्र उमेद्ववार गरी १६ जनाकोे एकल उम्मेदवार परेको छ । मनाङका मुख्य निर्वाचन अधिकृत  खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गरिने बताए । चार गाउँपालिका रहेको मनाङमा २ सय १० जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ । 

Logo