जहाँ भत्कियो सत्तागठबन्धनः प्रतिपक्षी दलसँग समेत तालमेल

जहाँ भत्कियो सत्तागठबन्धनः प्रतिपक्षी दलसँग समेत तालमेल


आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले केन्द्रमा गरेको चुनावी तालमेल जिल्लाहरूमा लागू नहुँदा गठबन्धन देशैभर अप्ठ्यारोमा परेको छ। सत्ता गठबन्धनमा आवद्ध पाँच दल प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनाव लड्दैछन् । तर गठबन्धन दलभित्रै तालमेल हुन नसक्दा देशैभर गठबन्धन भत्किएको छ। जसका कारण गठबन्धनले देशभर बागी उम्मेदवारको सामना गर्नुपरेको छ। यसबाट गठबन्धनलाई आफ्नै बागी उम्मेदवार भारी हुने देखिन्छ। 

सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाल दोस्रो कार्यकालका लागि मेयरको उम्मेदवार बनेकी छिन्। गएको निर्वाचनमा पनि कांग्रेस–माओवादीको गठबन्धनबाट मेयर बनेकी रेनुलाई यसपटक सहयोग गर्न नसक्ने चितवनका कांग्रेस नेताहरूले बताउँदै आएका थिए । 

तर गठबन्धनले पुनः रेनुलाई नै उम्मेदवार बनाएपछि गठबन्धनविरुद्ध कांग्रेस नेताले बागी उम्मेदवारी दिएका छन् । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दर्ता गरेका हुन्। बागी दिएका नेता पौडेलले उम्मेदवारी फिर्ता नलिए यसपटक माओवादी केन्द्रकी दाहाललाई निर्वाचन जित्न सकस पर्नेछ। 
पोखरा महानगरपालिकामा पनि गठबन्धनको विरुद्ध बागी उम्मेदवारी परेको छ। गठबन्धनका तर्फबाट पोखरा महानगरमा एकीकृत समाजवादीबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन्। गठबन्धनको मेयरविरुद्ध कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका हुन्। कांग्रेसका विमलबहादुर कार्की र ऋषि सापकोटा, नन्दुप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएका छन्। सत्तागठबन्धनमा पोखरा महानगर नेकपा एसको भागमा परेको थियो तर, कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट रहँदै आएका छन् ।

 देशभर गठबन्धनका बागी उम्मेदवार
सत्ता गठबन्धनले दुई महानगरसहित देशैभर बागी उम्मेदवारको सामना गर्नुपरेको छ। महोत्तरीको बर्दिवास नगरपालिकामा पनि गठबन्धन भत्किएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भनिएपनि दुवै पार्टीको बागी उम्मेदवारी परेको छ। बर्दिबासको मेयरमा माओवादी केन्द्रका राजु खड्काविरुद्ध माओवादी केन्द्रकै नेता रुद्र सुस्लिङ मगरले बागी उम्मेदवारी दिएका छन् । त्यसैगरी कांग्रेसका उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध कांग्रेसकै प्रह्लादकुमार क्षेत्रीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

ओखलढुङ्गाको लिखु, मानेभन्ज्याङ र खिजीदेम्बा गाउँपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । लिखु र खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस नेता क्रमशः राजन सुवेदी र महेश कोर्मोचाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेसका जाग्रित भट्टराईले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुर जिल्लामा सबैभन्दा बढी गठबन्धनले बागी उम्मेदवार सामना गर्नुपरेको छ। उदयपुरका प्रायः पालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ। उदयपुरको कटारी नगरपालिकामा सत्तागठबन्धनमा आबद्ध माओवादी केन्द्र प्रदेश १ का सदस्य केपी बरालले मेयरमा स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गरेका छन् । कटारीमा माओवादीको उदयपुर अध्यक्ष विनोद कटुवाल दिवसले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । तर गठबन्धनकै दल कटुवालविरुद्ध कांग्रेसका कृष्ण थापाले उपमेयरमा बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाको उपमेयरमा गीता खड्का कार्कीले उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रकी सावित्रा थापाले उपमेयरमै बागी उम्मेदवारी दिएकी छन्। यस्तै उदयपुरकै रौतामाई गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता वीरेन्द्रकुमार मगरले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उपाध्यक्ष नेपाली कांग्रेसको भागबाट भूपेन्द्र थापाले दर्ता गरेका छन्। थापाविरुद्ध उपाध्यक्षमा कांग्रेसकै कौशल राईले बागी उम्मेदवारी दिएका छन्। 

यसैगरी उदयपुरको ताप्ली गाउँपालिकामा पाँचदलीय गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका नेता ढुंगराज विकले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनविरुद्ध कांग्रेसकै महादेव रास्कोटीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

भक्तपुरमा सत्ता गठबन्धनको तालमेल तोडिएको छ। कांग्रेससँग सहमति हुन नसकेपछि माओवादीले पालिकाहरूमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको छ। गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुर थिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

माओवादीले भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं, चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट सर्केश घलानले उम्मेदवारी दिएका छन् । उनका विरुद्ध कांग्रेस नेता शंकर पराजुलीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गठबन्धनले पुनः रेनुलाई नै उम्मेदवार बनाएपछि गठबन्धनविरुद्ध कांग्रेस नेताले बागी उम्मेदवारी दिएका छन् । पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दर्ता गरेका हुन्। बागी दिएका नेता पौडेलले उम्मेदवारी फिर्ता नलिए यसपटक माओवादी केन्द्रकी दाहाललाई निर्वाचन जित्न सकस पर्नेछ।

यस्तै काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाका मेयरमा पनि गठबन्धनबाटै बागी उम्मेदवारी परेकाे छ। यसअघि नेपाली कांग्रेसबाट वडा नं. १२ का वडाध्यक्ष रहेका गाेविन्द पराजुलीले अहिले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । यहाँ एकीकृत समाजवादीबाट निवर्तमान मेयर टाेकबहादुर वाइवाले मेयरमा उम्मेदवारी दिएका छन् । उनीविरूद्ध पराजुलीले उम्मेदवारी दिएका हुन् ।

कांग्रेसविरुद्ध कांग्रेसकै बागी
गठबन्धन दलको नेपाली कांग्रेसले आफ्नै पार्टीभित्र पनि बागी उम्मेदवारको सामना गर्नुपरेको छ। दाङको राप्ती गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी नेपाली कांग्रेसका बुद्धिप्रकाश चौधरीले अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका छन्। कांग्रेसले जगदम्बाकुमारी चौधरीलाई टिकट दिएपछि असन्तुष्ट चौधरीले बागी उम्मेदवारी दिएका हुन्।

यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध कांग्रेसकै नेताले बागी हालेका छन्। चिरञ्जीवी हमालले कांग्रेसको आधिकारिक उम्मेदवारको रुपमा बर्दिबासको मेयरमा उम्मेदवारी दिएका छन्। हमालविरुद्ध कांग्रेसकै प्रह्लादकुमार क्षेत्रीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार खगेन्द्र राईविरुद्ध कांग्रेसकै प्रशान्त राईले बागी उम्मेदवारी दर्ता गरेका छन्।

पूर्वी नवलपरासीमा पनि कांग्रेसका उम्मेदवारविरुद्ध कांग्रेसकै नेताले बागी उम्मेदवारी हालेका छन्। बुलिंटार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले शशिकिरण बस्ताकोटीलाई उम्मेदवार बनाएको छ। तर उनीविरुद्ध कांग्रेसकै चेसराम आलेले बागी उम्मेदवारी दिएका छन्। उनी जिल्ला समन्वय समितिका प्रमुखसमेत हुन्। तर कांग्रेसले गएको निर्वाचनमा अध्यक्षमा निर्वाचित बस्ताकोटीलाई उम्मेदवार बनाएपछि आलेले बागी उम्मेदवारी दिएका छन्। 

मकवानपुरको मनहरी गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार रञ्जन कालाखेतीविरुद्ध कांग्रेस नेताकै बागी उम्मेदवारी परेको छ। मनहरीमा गाउँपालिकाको अध्यक्षमा शंकर न्यौपानेले उम्मेदवारी दिएका छन् । कांग्रेसका महाधिवेशन प्रतिनिधि न्यौपानेले नेपाली कांग्रेस (बीपी) पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै सोही दलबाट कांग्रेस नेत्री जानुकी लामाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्। 

प्रतिपक्षी एमालेसँग गठबन्धन दलको तालमेल
केन्द्रमा गरिएको चुनावी गठबन्धन तलका पालिकाहरूमा पनि कायम गर्ने प्रयास गरेपनि गठबन्धन दलहरू सफल भएनन् । माओवादीको आधार इलाका मानिने रोल्पा र रुकुम जस्ता ठाउँहरूमा समेत गठबन्धन दलहरूले चुनावी तालमेल गर्न सकेनन् । जसको परिणाम उनीहरू प्रतिपक्षी दल नेकपा एमालेसँग समेत चुनावी तालमेल गर्न पुगेका छन् । 

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनको तालमेल कायम गर्न नसकेपछि प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका छन्। गजब कुरा त के भने एमालेसँग भर्खरै छुट्टिएर अर्को पार्टी गठन गरेको नेकपा एसले एमालेसँग गठबन्धन गरेको छ। केन्द्रमा एमाले र नेकपा एसबीच पानी बाराबारको स्थिती कायम छ। तर हुम्लामा भने समाजवादीले स्थानीय चुनावमा एमालेको साथ लिएको छ। 

कांग्रेस-एमाले गठबन्धन
रोल्पा माओवादीको आधार इलाका हो। रोल्पामा गठबन्धन दल कांग्रेस र माओवादीबिच गठबन्धन गर्ने प्रयास सफल नभएपछि माडी गाउँपालिकामा कांग्रेसले एमालेसँग तालमेल गरेको छ। जसअनुसार माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता गरेका छन्। पालिकामा मात्रै होइन, कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेका छन्।

सल्यानको कुमाख गाउँपालिकामा पनि कांग्रेस र एमालेबीच गठबन्धन भएको छ। अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरेका छन्। 

एमाले-माओवादी गठबन्धन
अदालतको आदेशले नेकपा खारेज भएर एमाले माओवादी पुरानै अवस्थामा फर्किएपछि माओवादी र एमालेबीच तिक्तता कायम छ। तर स्थानीय चुनावमा भने केही स्थानमा एमाले माओवादीबीच चुनावी तालमेल गरिएको छ। जसअनुसार नुवाकोटमा एमाले र माओवादीले तालमेल गरेका छन् । सत्ता गठबन्धनबीच केन्द्रमा तालमेल भए पनि नुवाकोटको किस्पाङ गाउँपालिकामा एमाले र माओवादीबीच गठबन्धन भएको हो। जसअनुसार गाउँपालिकाको प्रमुखमा एमालेबाट वीरबल तामाङले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट अर्जुन न्यौपानेले उम्मेदवारी दिएका छन् ।

सो गाउँपालिकाको वडाध्यक्ष र सदस्यमा समेत दुई पार्टीले सहमतिमा उम्मेदवार उठाएका छन् ।
यसैगरी प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुगेको छ। गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमत नभएपछि एमाले–माओवादी गठबन्धन हुन पुग्यो । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्धन भएको हो। 

एमाले-माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एमसी अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन्। माओवादीसँग गठबन्धन नभएपनि जनमोर्चा र कांग्रेसबीच तालमेल भएको छ । जसअनुसार जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार भएका छन् ।

एमाले-समाजवादीको गठबन्धन
पार्टी फुटेपछि नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच केन्द्रमा पानी बाराबारको स्थिती छ। तर स्थानीय चुनावमा भने हुम्लामा एमाले र समाजवादीले तालमेल गरेका छन् । एमाले-समाजवादीको तालमेलपछि हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमारी शाही उम्मेदवार बनेकी छन्। समाजवादी पार्टीका तर्फबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् । 

सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भागबण्डा नमिलेपछि एकीकृत समाजवादी एमालेसँग हात मिलाउन पुगेको हो। चंखेलीमा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।

Skip This
Logo