उजुरीविरुद्ध चिरीबाबु र मञ्जलीले पेस गरे जवाफ, ८ जनाको उम्मेदवारी बदर

उजुरीविरुद्ध चिरीबाबु र मञ्जलीले पेस गरे जवाफ, ८ जनाको उम्मेदवारी बदर


ललितपुर महानगरपालिकाको मेयरमा उठेका नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा उठेकी नेकपा एमालेकी मञ्जली शाक्यले मुख्य निर्वाचन अधिकृतको कार्यालयसमक्ष जवाफ पेश गरेका छन्। महर्जन र शाक्यविरुद्ध कार्यालयमा उजुरी परेपछि उनीहरूले जवाफ पेश गरेका हुन्। 

ललितपुर महानगरपालिकाको मेयर छँदाको बेरुजु फर्छ्यौट नगरी अर्को चुनावमा उठेको भन्दै चिरीबाबुविरुद्ध परेको उजुरीमा कार्यालयले जवाफ मागेपछि महर्जनले जवाफ दिएका हुन्। त्यसैगरी, एमालेका तर्फबाट ललितपुर महानगरमा उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध पनि उजुरी परेपछि आयोगले जवाफ मागेको थियो। शाक्यले पनि जवाफ पेस गरिसकेकी छिन्। ०७४ सालको प्रदेशसभा चुनावको समानुपातिकतर्फ बन्द सूचीमा राखिएको नाम नहटाई उम्मेदवारी दर्ता गरेको भन्दै स्थानीय ज्ञानबहादुर खत्रीले उजुरी मञ्जलीको उम्मेदवारीविरुद्ध उजुरी दिएका थिए। 

८ जनाको उम्मेदवारी बदर
यसैगरी ललितपुर महानगरपालिकामा स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गराएका ८ जनाको उम्मेदवारी बदर भएको छ। विभिन्न उजुरीको छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपप्रमुखदेखि वडासदस्यसम्म गरि ८ जनाको उम्मेदवारी बदर गरिदिएको हो ।

यसरी उम्मेदवारी बदर हुनेहरूमा स्वतन्त्रबाट ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका बसन्त खड्का, विवेकशील साझाबाट वडा नम्बर ३ को अध्यक्षका लागि उम्मेदवारी दिएकी लिला तामाङ,  माओवादी केन्द्रबाट वडा नम्बर १९ को सदस्यमा उम्मेदवारी दिएका रोहन खड्गी, सोही वडाको महिला सदस्यमा उम्मेदवारी दिएकी लोकमाया शाक्य, वडा नम्बर ६ को महिला वडासदस्यमा उम्मेदवारी दर्ता गराएकी चन्द्रमाया श्रेष्ठ रहेका छन्।

यस्तै एकीकृत समाजवादीको तर्फबाट ललितपुर महानगरपालिका वडा नम्बर १ मा महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी थापा, वडा नम्बर ८ को सदस्यमा मनोनय दर्ता गराएका पञ्च महर्जन र वडा नम्बर ८ मै महिला सदस्य बन्न उम्मेदवारी दिएकी केशरी महर्जनको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णु पाण्डेले जानकारी दिए। ललितपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका अरू ४ उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरिरहेको छ।

Logo