किन बढे स्वतन्त्र उम्मेदवार ?, के भन्छन् राजनीतिक विश्लेषक ?

किन बढे स्वतन्त्र उम्मेदवार ?, के भन्छन् राजनीतिक विश्लेषक ?


देश निर्वाचनमय बनेको छ । नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् । तर हाल देखिएको राजनीतिक संस्कार तथा स्वार्थका कारण नेपालको पछिल्लो राजनीति अस्थिर देखिएको छ । खासमा व्यवस्था बदलिए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । सरकार स्थिर नभएका कारण देशको विकासमा बाधा पुगेको छ ।

दलहरुले आफ्नो सिद्धान्त भुलेका छन्, जसका कारण राजनीतिले सही ट्रयाक समाउन सकेको छैन। यसले गर्दा जनतामा निर्वाचनको उत्साह खासै भएको पाइँदैन । स्थानीय तहनिर्वाचन आउन अब १४ दिन बाँकी छ । निर्वाचनमा विशेषगरि सत्ता गठबन्धन र नेकपा एमाले–राप्रपा नेपाल–परिवार दलबीचको गठबन्धनबीच तीव्र प्रतिश्पर्धा हुने देखिन्छ । निर्वाचन आयोगले वैशाख १६ गते (आज) उम्मेदवारी फिर्ता लिने समय दिएको छ । आयोगले शनिबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्नेछ। हाल देशभरको अवस्था हेर्दा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेद्वारहरुलाई आधिकारिक तथा पार्टी र गठबन्धनका उम्मेदवारहरु उम्मेदवारी फिर्ता लिन फकाइरहेका छन्। 

यस्तो छ आयोगको तथ्यांक 
निर्वाचन आयोगमा १११ दल दर्ता छन् । ती मध्ये २०७९ सालको स्थानीय तह निर्वाचनका लागि ७९ दलले आयोगबाट अनुमति पाएका छन् । आयोगको तथ्यांक अनुसार देशभरका नगरपालिकामा मेयर–उपमेयर र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा प्रमुख राजनीतिक दलहरूको तुलनामा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ। तथ्यांकअनुसार देशभर मेयर/नगरप्रमुखमा ३ हजार ४९९ जनाले उम्मेदवारी दिएका छन्। जसमा एमालेबाट २९०, नेपाली कांग्रेसबाट २६५, राप्रपाबाट २३०, माओवादीवाट १७४, एकीकृत समाजवादीवाट १५०, जसपाबाट १५९, लोकतान्त्रिक समाजवादीवाट ९३ जना छन् । १ हजार ३९३ स्वतन्त्र उम्मेदवारी परेको छ। 

पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा बागी उम्मेदवारको संख्या बढेको छ। स्थानीय आवश्यकता एउटा हुने तर केन्द्रले अर्को निर्णय गरेका कारण पनि यस्तो अवस्था आएको हो।

गाउँपालिका अध्यक्षमा पनि देशभरबाट परेका २ हजार ३८७ उम्मेदवारी मध्ये एमालेबाट ४४६, कांग्रेसबाट ३९२, राप्रपाबाट २९२, माओवादी केन्द्रबाट २९०, एकीकृत समाजवादीबाट १८४, जनता समाजवादीबाट १८९, लोकतान्त्रिक समाजवादीबाट ७८ छन् । गाउँपालिका अध्यक्षमा पनि १ हजार ३२ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ।

उपमेयरमा देशभरबाट २ हजार १५८ जनाले उम्मेदवारी दिएका छन् । एमालेबाट २८६, राप्रपाबाट २२९, कांग्रेसबाट २११, माओवादीबाट २१४, एकीकृत समाजवादीबाट १७७, जनता समाजवादीबाट १३८, लोकतान्त्रिक समाजवादीबाट ८० जनाको उम्मेदवारी परेको छ। उपमेयरमा पनि ३९६ स्वतन्त्र उम्मेदवार रहेको आयोगले जनाएको छ । देशभरबाट उपाध्यक्षमा २ हजार ४०२ जनाको उम्मेदवारी परेको छ। जसमा एमालेबाट ४४५, कांग्रेसबाट ३५९, माओवादीबाट ३१५, राप्रपाबाट २०४, एकीकृत समाजवादीबाट १८०, जनता समाजवादीबाट १५६, लोकतान्त्रिक समाजवादीबाट ५८ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा३६४ जना स्वतन्त्र उम्मेदवार छन् ।

वडाध्यक्षमा देशभरबाट ३५ हजार २ सय ६५ जनाको उम्मेदवारी परेको छ, जसमा वडाध्यक्षमा ५ हजार ८९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगको तथ्यांक छ ।

नेताहरुलाई बागी उम्मेदवार फकाउन भ्याइनभ्याइ
हाल देशभर उठेका दलका बागी उम्मेदवारलाई सम्बन्धित पार्टीका नेताहरु फकाउन जुटेका छन् । मुख्यरुपमा सत्ता गठबन्धनका प्रमुख नेताहरु बागी उम्मेदवारलाई फकाउन पुगेका हुन् । 

पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध भरतपुरमा कांग्रेस नेताले उम्मेदवारी दिएपछि शीर्ष नेताहरुमा चिन्ता थपिएको छ । कांग्रेस नेताहरु स्वतन्त्र उम्मेदवारलाई मनाउन भरतपुर पुगे तर सकारात्मक जवाफ भने आएन । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक अपिल जारी गर्दै शुक्रबार साँझ ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उनको संकेत फिर्ता नलिए कारबाही प्रक्रियामा जाने भन्ने छ। गठबन्धनमा रहेका अन्य दल माओवादी केन्द्र, नेकपा एससहितका दलबाट पनि बागी उम्मेदवारी परेको छ। उनीहरुको प्रयास पनि सहमतिका लागि जारी छ। एमाले पनि स्वतन्त्र उम्मेदवारलाई आफूतिर तान्दै आधिकारिक उम्मेदवारलाई विजयी गराउने रणनीतिमा लागेको छ । 

किन बढेस्वतन्त्र उम्मेदवार?, के भन्छन् राजनीतिक विश्लेषक ?

श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
‘पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा बागी उम्मेदवारको संख्या बढेको छ। स्थानीय आवश्यकता एउटा हुने तर केन्द्रले अर्को निर्णय गरेका कारण पनि यस्तो अवस्था आएको हो। स्थानीय तहमा आफ्नो बहुमत हुँदा हुँदै पनि गठबन्धनका कारण बहुमतलाई गुमाउने अवस्थालाई अस्वीकार गर्दै उम्मेदवारी दिएको हुनसक्छ। वास्तविकताभन्दा पर गएर केन्द्रले निर्णय गरेका कारण हक र अधिकार खोसिएकाले यस्तो हुन गएको छ। खासमा नेताहरुको चरित्र तथा गठबन्धनका कारण बागी उम्मेदवारी बढेको हो। ’

भोगेन्द्र झा, राजनीतिक विश्लेषक 
‘नेपालमा पछिल्लो समय राजनीतिक संस्कार विकसित नभएको अवस्था छ । हाल नेपालमा कुनै दल तथा सिद्धान्त नभएको अवस्था छ । नामधारी लोकतन्त्रवादी तथा नामधारी कम्युनिस्ट भएका कारण यो अवस्था आयो ।  कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए  लोकतन्त्रवादी भनिनेहरु अलोकतान्त्रिक चरित्रका पृष्ठपोषक भएका कारणले गर्दा यो अवस्था आएको हो । यहाँ न एमालेले कम्युनिस्टको चरित्र देखाएको छ, न त कांग्रेसले लोकतन्त्रको चरित्र देखायो । यहाँ पद पाए ५ मिनेटमा पार्टी छाड्नेहरु छन् ।यहाँ कसैमा राजनीतिक सोच तथा संस्कार छैन । यो नेपालको राजनीतिक अराजकहरुको भिड हो । यो नेपालको प्रणालीका लागि दुर्भाग्य छ। यहाँ सबै व्यवस्थालाई सवल बनाउने सोच कसैमा पनि छैन । जसका कारण स्वतन्त्र उम्मेदवारी बढेको छ। पार्टी सिस्टममा विश्वास नभएका कारण तथा लोभलालचका कारण पनि यस्तो अवस्था आएको हो । सबै पार्टीमा दलीय अनुशासन नभएका कारण योअवस्था आयो । परम्परादेखि नै लोकत्रान्तिक देशमा यस्तो हुने गरेको छ तर यो हदसम्म भएको चाहिँ याद भएन । नेता तथा कार्यकर्ता दुवैमा असन्तुष्टि बढेका कारण यो अवस्थाको सिर्जना भएको हो। यहाँबाट नेताहरुले जनता हामीबाट खुसी छैनन् भन्ने बुझ्नुपर्छ।’

 

Skip This
Logo