यी हुन् मेयरपदका १० चर्चित उम्मेदवार

यी हुन् मेयरपदका १० चर्चित उम्मेदवार


देश यतिबेला निर्वाचनमय बनेकाे छ। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा स्थानीय जनप्रतिनिधिका निम्ती देशभरका ७५३ स्थानीय तहमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता भइसकेपछि यतिबेला कुन पालिका कस्ता उम्मेदवारले मनोनयन दर्ता गरे भनेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ।

देशभरका पालिकामध्ये सबैभन्दा बढी ६ वटा महानगर, ११ उपमहानगरका उम्मेदवारका बारेमा चर्चा भइरहेका छन् । केही यस्ता नगर छन् जहाँ उम्मेदवारका व्यक्तित्वभन्दा पनि अन्य विषय बढी चर्चामा छन् । हामीले यहाँ यस्ता १० मेयरका उम्मेदवारका बारेमा चर्चा गर्दैछौं जसको मनोनयन दर्ता भइसकेपछि बढी चर्चा भइरहेका छन् । 

१. केशव स्थापित (नेकपा एमाले)
काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगर मुलुकको राजधानी भएको महानगर हो। जसका कारण पनि महानगरको नेतृत्व अब कसको हातमा जाला भनेर चर्चा हुने गर्दछ। केशव स्थापित काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार हुन् । नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गरेका स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयरसमेत हुन् ।

बेला-बेला विभिन्न विषयमा चर्चा र विवादमा आइरहने व्यक्ति हुन् स्थापित । काठमाडौँको मेयरमा उम्मेदवारी दिएपछि अहिले उनी सबैभन्दा बढी चर्चामा छन् । उनको चर्चाको कारण भने त्यति सुखद छैन । केही समय पहिले स्थापितलाई एकजना महानगरकै पूर्वकर्मचारी र एकजना पत्रकार महिलाले यौनहिंसा गरेको आरोप लगाएका थिए । सोही विषय अहिले चर्चा र विवादको विषय बनेको छ। 

स्थापित बागमती प्रदेशको मन्त्री बनेका बखत उक्त विषय उठेको थियो । तर त्यो विषय कानुनी उपचारमा नगएर त्यतिकै सेलाएर गयो । अहिले स्थापित काठमाडौँको मेयरको उम्मेदवार बनेपछि पुनः विवाद चर्किएको छ। विशेषगरि केही अधिकारकर्मी र विपक्षीहरूले यो कुरा बढी उठाइरहेका छन् । गत बिहीबार एउटा कलेजको कार्यक्रममा गएका स्थापितलाई सहभागीले सोही विषयमा प्रश्न सोध्दा यौन हिंसा गरेको प्रमाण खै भन्दै उनी निकै जंगिएको भिडियो अहिले भाइरल भइरहेको छ। 

२०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका स्थापितले "मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ" भन्ने नारा ल्याएका थिए । उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनित भएका स्थापित राष्ट्रिय खेलकुद परिषद् नेपालका नवौँ सदस्य सचिव सबेका भएका थिए । २०६९ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका स्थापित बागमती प्रदेशको मन्त्रीसमेत भएका थिए। विसं २०१६ मा काठमाडौँमा जन्मिएका स्थापित अहिले दोस्रोपटक मेयरको उम्मेदवार बनेका छन् । 

२. सिर्जना सिंह (नेपाली कांग्रेस)
काठमाडौँ महानगरपालिका

सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह सत्ता गठबन्धन तर्फबाट काठमाडौँ महानगरको उम्मेदवार हुन्। यसअघि महानगरमा १ जना महिलाले मात्र मेयरको टिकट पाएका थिए । तर यसपाली सत्ता गठबन्धनले दुई ठूला महानगर काठमाडौँ र भरतपुरमा महिला मेयरको उम्मेदवार उठाएको छ। सिर्जना सिंह मेयरको रुपमा उम्मेदवार भन्दा कांग्रेसका त्यागी नेता गणेशमान सिंहको बुहारी तथा नेता प्रकाशनमान सिंहको श्रीमतीको रुपमा चर्चामा छिन् । लामो समय राजनीति छाडेर घरगृहस्थीमा बिताएको व्यक्तिलाई परिवारकै कारण मेयरको टिकट दिइएको भन्दै विपक्षीले उनको उम्मेदवारीको विरोध गर्दै आएका छन्। 

कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह ०४० सालमा प्रकाशनमानसँग बिहे गरेपछि राजनीतिबाट निस्क्रिय भएकी थिइन् । ०३२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएकी उनी ०३६ सालमा कांग्रेस प्रतिबन्धित हुँदा गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन्। ०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति भएकी थिइन्। शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी सिर्जना सिंह यद्यपि ०५९ मा कांग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा सक्रिय बनेकी थिइन् । उनका श्रीमान प्रकाशमान जेलमा भएका बेला कांग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा प्रतिनिधि रहेकी सिर्जना सिंह पुनः निस्क्रिय बनिन् । 

कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः सक्रियता देखाएकी उनी महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी थिइन्। पार्टीको महाधिवेशनमा सहभागी भएको केही समयमै कांग्रेसले उनलाई महाधिवेशनको प्रतिनिधि बनाएको छ। 

३. बालेन शाह (स्वतन्त्र)
काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारीको घोषणा गरेपछि एकाएक चर्चामा आएको नाम हो बालेन शाह । नेपाली र्‍यापर बालेन काठमाडौँ महानगरलाई परिवर्तन गर्ने उद्देश्यका साथ अहिले चुनावी मैदानमा छन्। स्वतन्त्रबाट महानगरको मेयरमा उम्मेदवारी दिएका बालेन काठमाडौँमा जन्मे हुर्केका हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकल्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । 

बेला-बेला विभिन्न विषयमा चर्चा र विवादमा आइरहने व्यक्ति हुन् स्थापित । काठमाडौँको मेयरमा उम्मेदवारी दिएपछि अहिले उनी सबैभन्दा बढी चर्चामा छन् । उनको चर्चाको कारण भने त्यति सुखद छैन । केही समय पहिले स्थापितलाई एकजना महानगरकै पूर्वकर्मचारी र एकजना पत्रकार महिलाले यौनहिंसा गरेको आरोप लगाएका थिए । सोही विषय अहिले चर्चा र विवादको विषय बनेको छ। 

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार बालेनको उम्मेदवारी घोषणाले विशेषगरि युवापुस्ता उत्साहित छन्। आफू इञ्जिनयर भएको र काठमाडौँको विकास गर्ने योजना आफूसँग रहेको भन्दै अहिले उनी चुनावी दौडमा छन्। लामो समयदेखि राजनीति दलहरूले जनतालाई झुक्याउँदै आएको भन्दै साँच्चिकै काठमाडौँको विकास गर्नसक्ने नयाँ पुस्ताको आवश्यकता महसुस गरेर आफू निर्वाचनमा होमिएको उनको भनाइ छ। ९० हजार ६ सय मत ल्याएर काठमाडौँको मेयरमा निर्वाचित हुनेसमेत दाबी गर्दै आएका बालेनको उम्मेदवारीले राजनीतिक दलका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका उम्मेदवारलाई समेत सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ।  

४. रेनु दाहाल (माओवादी केन्द्र)
भरतपुर महानगरपालिका

चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार हुन् रेनु दाहाल । दोस्रोपटक भरतपुरको मेयरमा उम्मेदवारी दिएकी रेनु आफ्नो कामले भन्दा पनि परिवारका कारण बढी चर्चामा हुने व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेनुलाई यसपटक पनि पुष्पकमलको छोरी भएकै कारण मेयरको टिकट पाएको भन्दै आरोप लाग्ने गरेको छ। 

२०७४ सालमा भएको निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच भरतपुरमा चुनावी तालमेल थियो। सोही कारण रेनुले मेयरमा जितेकी थिइन्। यसपटक पनि माओवादीलाई मेयरमा सहयोग गर्न नसकिने भनेर चितवनका कांग्रेसका नेताहरूले बताउँदै आएका थिए। त्यसका बाबजुद सत्ता गठबन्धनका तर्फबाट रेनु मेयरका उम्मेदवार बनेकी छिन् । केन्द्रमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भरतपुरको मेयर माओवादीलाई नदिन आग्रह गरेपनि गठबन्धनले माओवादीकै भागमा मेयर दिएपछि नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुरको मेयरमा बागी उम्मेदवारी दिएका छन्। 

पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस तथा माओवादीका नेताहरूले पहल गरेपनि उनले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरेको जानकारी दिएको छ। उनलाई मनाउन माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत चितवन पुगेका थिए । भरतपुर दाहालको निर्वाचन क्षेत्रसमेत हो । एसएलसीसम्मको औपचारिक शिक्षा लिएकी रेनु पुष्पकमलकी माइली छोरी हुन् ।

५. विजय सुवेदी (नेकपा एमाले)
भरतपुर महानगरपालिका

स्थानीय निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ। भरतपुर महानगरपालिकामा गठबन्धनले रेनु दाहाललाई उम्मेदवार बनाएको छ। बिपक्षी एमालेले भने विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ। महानगर, उपमहानगर र देशभरका सम्भव भएका सबै पालिकाहरूमा गठबन्धनले चुनावी तालमेल गरेको अवस्थामा भतरपुर महानगरमा एमालेले गठबन्धनलाई टक्कर दिन हेभी वेट सुवेदीलाई उठाएको हो। बागमती प्रदेशसभाका सदस्य सुवेदीले भरतपुरको मेयरमा चुनाव लड्नका निम्ती सांसदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । 

गएको निर्वाचनमा पनि कांग्रेस-माओवादीबीच चुनावी गठबन्धन भएकै अवस्थामा एमालेका देवी ज्ञवाली थोरै मतले मात्रै पराजित भएका थिए । मतगणनाको क्रममा भरतपुर महानगर विवादितसमेत बनेको थियो । त्यसैले यो निर्वाचनमा भरतपुरमा जीत हाशिल गर्न एमालेले महानगरमा राम्रो छाप भएका प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएको छ। 

संविधानसभाको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समिति र राज्य पुनर्संरचना उच्चस्तरीय आयोगले १४ प्रदेशको प्रस्ताव गर्दै नेपालको केन्द्रबिन्दु मानिने चितवनलाई विभिन्न टुक्रामा विभाजित गरेर नयाँ भूगोल बनाउने प्रस्ताव गरेको थियो । सोही प्रस्तावपछि एकीकृत चितवनको पक्षमा आन्दोलन चर्केको थियो । उक्त आन्दोलनको नेतृत्व सुवेदीको नगर क्षेत्रमा बलियो पकड रहेको बताइन्छ । २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका उनी तीन कार्यकाल नेकपा एमाले चितवनको नेतृत्व गरिसकेका व्यक्ति हुन् । हाल एमाले बागमती प्रदेश कमिटी सचिव रहेका सुवेदी सत्ता गठबन्धनसँग टक्कर गर्न चुनावी मैदानमा उत्रिएका छन् ।

६. जगन्नाथ पौडेल (स्वतन्त्र)
भरतपुर महानगरपालिका

आसन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा रहेको भरतपुरमा महानगरभित्र अहिले चर्चामा रहेका व्यक्ति हुन् जगन्नाथ पौडेल । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रमा भागबण्डा गर्दा भरतपुर महानगर माओवादी केन्द्रमा परेको छ। भागबण्डाअनुसार माओवादी केन्द्रकी रेनु दाहालले भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

तर गठबन्धनको निर्णय मान्य नहुने भन्दै बागी उम्मेदवारी दिएका कारण पाैडेल चर्चामा छन् । कांग्रेसका पुराना नेता पौडेलको उम्मेदवारी फिर्ता गर्न गठबन्धनका शीर्ष नेताहरूले भन्दासमेत उनले फिर्ता लिएनन् । पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका धेरै नेताहरूको दबाबका बाबजुद् पौडेलले आफ्नो अडानलाई यथावत् राखे । कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण त उनलाई फकाउन चितवन नै पुगेका थिए । उनको उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री खाणले करिब ४० घन्टा भरतपुर बसेर कसरत गरेका थिए। गृहमन्त्रीसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेललाई फकाउन देउवाका प्रतिनिधिको रूपमा चितवन पुगेका थिए । तर पौडेलले सबै नेतालाई आफू फर्कन नसक्ने अडान कायम राखेपछि अन्ततः कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरेको छ। 

७. विजय सरावगी (नेकपा एमाले)
वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरको मेयरमा पुनः उम्मेदवारी दिएका विजय सरावगी पार्टी परिवर्तन गरेकै कारण चर्चामा छन्। गएको निर्वाचनमा संघीय समाजवादी फोरमको तर्फबाट मेयरका उम्मेदवार बनेका सरावगी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गरे। 

काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारीको घोषणा गरेपछि एकाएक चर्चामा आएको नाम हो बालेन शाह । नेपाली र्‍यापर बालेन काठमाडौँ महानगरलाई परिवर्तन गर्ने उद्देश्यका साथ अहिले चुनावी मैदानमा छन्।

पार्टी फेरेलगत्तै मेयरको टिकट पाएका सरावगी यतिबेला वीरगञ्ज महानगरपालिकाको दोस्रो कार्यकालका लागि मेयरको दौडमा छन्। मेयरमा पुनः लड्नका निम्ती सरावगी ०७८ फागुन २८ गते एमाले प्रवेश गरेका थिए । उनलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं वीरगञ्ज पुगेका थिए। वीरगञ्ज महानगरको रोचक कुरा के छ भने अघिल्लो निर्वाचनमा विजयी भएका सरावगी र पराजित भएका राप्रपाका राजेशमान सिंह यो निर्वाचनमा आमनेसामने भएका छन्। सिंह र सरावगी दुवैजना एमाले प्रवेश गर्न चाहेका थिए । तर सिंहभन्दा अगाडि सरावगी एमाले प्रवेश गरेपछि सिंह सरावगीको रिक्त स्थान पूर्ति गर्न जसपा प्रवेश गरे र अहिले सरावगी र सिंहबीच मेयरका लागि प्रतिस्पर्धा हुनेछ।

८. कृष्ण थापा (नेकपा एमाले)
पोखरा महानगरपालिका

सुन्दर शहर हो पोखरा । काठमाडौँ बाहिरको चर्चित महानगर पोखरामा नेकपा एमालेका तर्फबाट कृष्ण थापा मेयरको उम्मेदवार बनेका छन्। एमालेले पहिले अर्कै व्यक्तिलाई पोखराको मेयरका निम्ती उम्मेदवार बनाएको थियो तर अन्तिममा कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएपछि उनी चर्चामा आएका हुन्। 

मेयरमा चुनाव लड्नका निम्ती उनले गण्डकी प्रदेशसभाको सदस्यबाट राजीनामा दिएका थिए। यसअघि एमालेले दीपक पौडेललाई मेयरको उम्मेदवार बनाएको थियो। तर अन्तिममा पौडेलको टिकट खोसेर थापालाई दिएपछि उनी चर्चामा आए । पौडेलले टिकट पाएपछि एक दशकअगाडिको सुन चोरीसँग सम्बन्धित विवादित भिडियो भाइरल भएको थियो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षका पौडेलले मेयरको टिकट पाएपछि पोखराकै एमाले नेता खगराज अधिकारी पक्षधर नेता कार्यकर्ताले पौडेल संलग्न भनिएको उक्त भिडियो सामाजिक सञ्जालमार्फत बाहिर ल्याएको आरोप छ। पोखरामा एमालेका नेताद्वय गुरुङ र अधिकारीबीच चर्को प्रतिस्पर्धा छ।

पौडेलको टिकट खोसेर थापालाई दिएपनि एमालेले पुनः विवादित व्यक्तिलाई टिकट दिएको भन्ने आरोप लागेको छ। जातीय विभेदको अभियोगमा हिरासतमा रहेका व्यक्तिलाई विनाशर्त रिहा गर्न विज्ञप्ति निकालेपछि उनको व्यापक आलोचना भएको थियो।

९. नागेश कोइराला  (नेपाली कांग्रेस)    
विराटनगर महानगरपालिका

राजधानीबाहिरको अर्को चर्चित महानगर हो विराटनगर । स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरको मेयरका लागि युवाहरूको उम्मेदवारीले चर्चा पाएको छ। यो महानगरको मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन्।

गएको निर्वाचनमा विराटनगरमा जित हात पारेको नेपाली कांग्रेसले आफ्नो पकडलाई निरन्तरता दिन युवा नेतालाई अवसर दिएको चर्चा हुने गरेको छ। तरुण दल हुँदै जिल्ला उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेका नागेश कोइराला २०३० जेठ ३१ गते विराटनगर–९ मा जन्मिएका हुन्। विद्यालयस्तरबाटै राजनीतिमा सक्रिय भएका उनले फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । २०५४ सालमा तरुण दलको कोषाध्यक्ष भएर राजनीतिमा लागेका कोइरालाले २०५६ सालमा सभापतिको जिम्मेवारी सम्हालेका थिए । १० वर्ष युवाको नेतृत्व गरेका कोइराला २०६६ सालमा जिल्ला तहमा अघि बढेका थिए।

युवाबीच लोकप्रिय मानिने कोइराला कांग्रेसको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै गतवर्ष सम्पन्न १४ औँ महाधिवेशनबाट मोरङ जिल्लाको उपसभापतिमा निर्वाचित भएका थिए । कांग्रेस नेता डा. शेखर कोइराला निकट मानिने कोइरालाले भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कदम रहने बताउँदै आएका छन् ।

१०. सागर थापा (नेकपा एमाले)
विराटनगर महानगरपालिका

मुख्य दलबाट युवा उम्मेदवारको उम्मेदवारी परेपछि यतिबेला विराटनगर महानगरपालिका पनि चर्चामा छ। गठबन्धन र एमालेका उम्मेदवारबीच भिडन्त हुने यस महानगरमा नेकपा एमालेबाट सागर थापा मेयरका उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका नागेश कोइरालासँग थापाको भिडन्त हुनेछ । 

विद्यार्थी राजनीतिबाट एमालेमा स्थापित युवा नेता सागर थापालाई सशक्त उम्मेदवारका रुपमा हेरिएको छ। ३० वर्षदेखि एमालेको राजनीतिमा क्रियाशील थापाले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका हुन् । हाल एमाले महानगर कमिटीका अध्यक्ष रहेका थापाले करिब दुई कार्यकाल महानगर हाँकेको अनुभव छ। नेकपा हुँदा महानगरको संयोजक रहेका थापा २० वर्षअघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट एक्लै स्ववियू सभापति निर्वाचित भएका थिए। उनले दुई कार्यकाल स्ववियू सभापति जित्दा अहिलेका विराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए।

Skip This
Logo