देशभर लिङ्देनको लोकप्रियता, राप्रपाले चुनावमा साख जोगाउँन सक्ला ?

देशभर लिङ्देनको लोकप्रियता, राप्रपाले चुनावमा साख जोगाउँन सक्ला ?


राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो । गत १५-१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यतिबेला दबाबमा आए, जतिबेला स्थानीय तहको निर्वाचन घोषणा भयो । कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो, राजनीति ठिक छैन । राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर मन्तव्य दिए । 

महाधिवेशन स्थलमा पुगेका कांग्रेसका प्रतिनिधि र सहभागीले ताली बजाए, उनीपछि मञ्चमा पुगेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले लिङ्देनको टिप्पणीप्रति समय खर्चिनुपर्‍यो । देश स्थानीय तहको निर्वाचनको माहोलमा प्रवेश ग¥यो । राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन । यसर्थ लिङ्देन सबैभन्दा समयको दबाबमा परे । अध्यक्ष लिङ्देनले १८ र १९ फागुनमा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किए । 

उनले कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् । 

राप्रपाले देशभर दिनहुँजसो सभाहरूको आयोजना गर्दै गयो । हरेक सभामा केन्द्रीय नेताहरूसँँगै लिङ्देन आफैं पुग्न थाले ।  काठमाडौंमा जनताको ’रेस्पोन्स’ परीक्षण गर्न २५ चैतमा काठमाडौंमा राप्रपाले सभाको आयोजना गर्‍यो ।

अध्यक्ष लिङ्देनले २४ चैतमा इलामको फिक्कलमा आमसभाका लागि समय दिए । पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रीत हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए । काठमाडौंको सभामा पनि सहभागी भए ।

उनले २६ चैतदेखि १० वैशाखसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको सहभागितामा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरु भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्तापछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ । कैलालीमा एकैदिन आठवटा सभा गरेको राप्रपाले नुवाकोटमा दुई, वीरगञ्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरु भए । 

बुधबार लिङ्देन झापामा हुने विभिन्न सभाहरुमा सहभागी हुन झापा पुगेका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका श्रेष्ठले जानकारी दिए । 

कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । निर्वाचनको मौन अवधि हुने दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

ती सभा जनताको उल्लेख्य सहभागिता रहेको र देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । 
 

Logo