काठमाडौँ महानगर : यसरी हुँदैछ चुनावी प्रतिस्पर्धा

काठमाडौँ महानगर : यसरी हुँदैछ चुनावी प्रतिस्पर्धा


स्थानीय निर्वाचनको मतदान हुने दिन नजिकिँदैछ। चुनावमा होमिएका उम्मेदवारहरू मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन्। संघीय राजधानी रहेको काठमाडौँ महानगरका उम्मेदवारहरू अहिले आआफ्नो पार्टी तथा समूहका तर्फबाट मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्। 

काठमाडौं महानगरमा प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारको मात्रै होइन स्वतन्त्र र साना दलका उम्मेदवारको पनि उत्तिकै चर्चा छ। एमालेले पूर्वमेयरसमेत रहेका केशव स्थापितलाई मेयरको उम्मेदवारका रूपमा अगाडि सारेको छ। यता गठबन्धनले कांग्रेसबाट सिर्जना सिंहलाई मैदानमा उतारेको छ । 

यी बाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पनि मेयर पदका लागि मनोनयन दर्ता गरेका छन् । तर काठमाडौँ महानगरमा मुख्य प्रतिस्पर्धा भने एमाले र गठबन्धनबिचमै हुने देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले-कांग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका थिए ।

एमालेले यसअघि नै मेयर भइसकेका केशव स्थापितलाई मेयरको रूपमा अगाडि सारेको छ। २५ वर्षअघि नै काठमाडौं महानगर हाँकिसकेका स्थापित बेलाबेला चर्चा र विवादमा आइरहने पात्र हुन्। उनीमाथि २५ वर्षअघि मेयर भएकै बखत आफ्नै एक जना कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपसमेत छ । निकै हक्की स्वभावका स्थापित काठमाडौंको नेतृत्व गरेका बेला गरेका कामको अहिले पनि चर्चा भइरहने गरेकाे छ। 

पहिलो पटक मेयर बन्दा स्थापितले "मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ" भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएका थिए। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनीत भएका स्थापित राष्ट्रिय खेलकुद परिषद् नेपालका नवौँ सदस्य सचिव भएका थिए । २०६९ सालमा काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका स्थापित बागमती प्रदेशको मन्त्रीसमेत भएका थिए। 

विसं २०१६ मा काठमाडौँमा जन्मिएका स्थापित कहिले ‘डेटिङ पार्क’ बनाउने भनेर चर्चामा आउँछन् त कहिले पार्टी परिवर्तन गरेकै कारण पनि चर्चामा रहिरहन्छन् ।

गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहलाई परिवारवादको आरोप लागेको छ। विवाहपूर्व सक्रिय राजनीतिमा रहेकी सिर्जना विवाहपश्चात् निष्क्रिय भएको आरोप लागेको छ। अधिकांश कार्यक्रमहरूमा राजनीतिक विरासतका कारण मात्रै मेयरको टिकट नपाएको भन्दै सिर्जनाले स्पष्टीकरण दिइरहनुपरेको छ । 

काठमाडौं महानगरमा प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारको मात्रै होइन स्वतन्त्र र साना दलका उम्मेदवारको पनि उत्तिकै चर्चा छ।

कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती भएकाले उम्मेदवारी पाएको भन्दै पार्टीभित्र र बाहिर उनको चर्को आलोचना हुने गरेको छ। उनी आफैंले पनि आफूले लामो समय घर व्यवहार व्यवस्थापन गरेको अनुभव रहेकोसमेत बताएकी छिन् । कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह ०४० सालमा प्रकाशनमानसँग बिहे गरेपछि राजनीतिबाट निष्क्रिय भएकी थिइन् । ०३२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएकी उनी ०३६ सालमा कांग्रेस प्रतिबन्धित हुँदा गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन्। ०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति भएकी थिइन् । तर उनी विवाहपश्चात् राजनीतिमा निष्क्रिय बनिन् । उनका श्रीमान् प्रकाशमान जेलमा भएका बेला कांग्रेस प्रजातान्त्रिकको ११ औँ महाधिवेशनमा प्रतिनिधि रहेकी सिर्जना सिंह पुनः निष्क्रिय बनिन् । कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सक्रियता देखाएकी सिंहलाई अहिले कांग्रेसले मेयरमा उठाएको छ। 

र्‍यापर बालेन शाहले काठमाडौँको मेयरमा उम्मेदवारी दिएका छन्। मेयरमा उम्मेदवारीको घोषणा गरेपछि बालेन एकाएक चर्चामा आए। स्वतन्त्रबाट उम्मेदवारी दिएका उनी दुई ठूला उम्मेदवार एमालेका केशव स्थापित र गठबन्धनका सिर्जना सिंहका निम्ति चुनौती बनेका छन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकल्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बालेनको उम्मेदवारी घोषणाले विशेषगरि युवापुस्ता उत्साहित छन् । लामो समयदेखि राजनीतिक दलहरूले जनतालाई झुक्याउँदै आएको भन्दै साँच्चिकै काठमाडौँको विकास गर्न सक्ने नयाँ पुस्ताको आवश्यकता महसुस गरेर आफू निर्वाचनमा होमिएको उनको भनाइ छ। ९० हजार ६ सय मत ल्याएर काठमाडौँको मेयरमा निर्वाचित हुने दाबीसमेत गर्दै आएका बालेनको पक्षमा सामाजिक सञ्जालमा अभियान नै चलेको देखिन्छ।

त्यसैगरी स्वतन्त्रबाट सुशील थापा, विवेकशील साझाबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मदनदास श्रेष्ठ चुनावी मैदानमा छन् । स्वतन्त्र र साना दलका उम्मेदवारको चर्चा भए पनि एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

Logo