ललितपुरमा चिरिबाबु र हरिकृष्णको दोहोरो ‘ब्याटल’

ललितपुरमा चिरिबाबु र हरिकृष्णको दोहोरो ‘ब्याटल’


स्थानीय तह निर्वाचनमा काठमाडौँ उपत्यकाको अर्को महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनका दुई प्रतिस्पर्धीबीच नै यस पटक पनि प्रतिस्पर्धा हुँदैछ। २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका कांग्रेसका चिरिबाबु महर्जन र उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार उम्मेदवार बनेका हुन्। 

वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेका तर्फबाट हरिकृष्ण ब्यञ्जनकार उम्मेदवार बनेका छन् भने गठबन्धनका तर्फबाट चिरिबाबु महर्जन उम्मेदवार बनेका छन्। पुरानै उम्मेदवारले टिकट पाएपछि ललितपुरमा पुरानै 'ब्याटल' दोहोरिने भएको छ। ललितपुर महानगरको मेयरमा धेरै जनाको आकांक्षा भएपनि अन्ततः कांग्रेसले चिरिबाबुलाई नै अघि सारेको छ। उता एमालेले पनि अघिल्लो निर्वाचनकै उम्मेदवार हरिकृष्णलाई अगाडि सारेको छ। 

गएको निर्वाचनमा चिरिबाबुले २४ हजार ६४२ मत ल्याएर महानगरको मेयरमा विजयी भएका थिए भने ब्यञ्जनकार ३२६ मत कम ल्याएर पराजित भएका थिए। उनले २४ हजार ३१६ मत पाएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।

यो निर्वाचनमा चिरिबाबु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँगको संयुक्त सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन्। तर हरिकृष्ण भने एमाले एक्लैको तर्फबाट उम्मेदवार बनेका छन्। यसर्थमा चिरिबाबु र हरिकृष्णको दोस्रोपटक ब्याटल हुँदैछ ललितपुरमा। 

ललितपुर महानगरमा गएको निर्वाचनमा १ लाख १२ हजार ९२३ मतदाता थिए। अहिले १ लाख २२ हजार ८९० पुगेको छ। यसपटक करिब ९ हजार मतदाता ललितपुरमा थपिएका छन् । यो महानगरमा जातीय मतको भार धेरै छ। महर्जन र ब्यञ्जनकार दुवै ज्यापु समुदायबाट प्रतिनिधित्व गर्छन्। उक्त समुदायको मत ललितपुरमा निर्णायक मानिन्छ।

सामान्य किसान परिवारमा जन्मिएका चिरिबाबु वि.सं. २०४६ सालमा नेपाली कांग्रेसमा आवद्ध भएका थिए। उनी तत्कालीन ललितपुर नगरपालिकाको वडा नं. ३ मा वि.सं. २०३८, वि.सं. २०४३ र वि.सं. २०४९ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएर ह्याट्रिक मारेका थिए। यो निर्वाचनमा दोस्रोपटक मेयरको उम्मेदवार बनेका चिरिबाबुले अघिल्लो निर्वाचनमै सोही व्यक्तिलाई हराएको र यो निर्वाचनमा सत्ता गठबन्धनको मत पनि थपिएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन्। 

५ वर्षपछि फेरि उही चुनावमा होमिएका एमालेका हरिकृष्ण ब्यञ्जनकार दोहोरिएका छन्। एमालेका मेयरका उम्मेदवार व्यन्जनकार २०७४ मै आफूले जिते पनि धाँधली गरेरै हराएको आरोप लगाउँदै आएका छन्। उनले चिरिबाबुलाई सजिलैसँग हराउने दाबीसमेत गरेका छन्। 

हाल एमाले केन्द्रिय सदस्य रहेका हरिकृष्ण नेपाल बैंकको जागिर छाडेर तत्कालीन ललितपुर नगरपालिका वडा नम्बर ९ को अध्यक्ष लड्न पदबाट राजीनामा दिएका थिए । २०३५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका उनले ०४९ सालमा एमाले ललितपुर नगर कमिटी सचिव, जिल्ला कमिटी सदस्य, ०६६ सालमा ललितपुर जिल्ला उपाध्यक्ष हुँदै २०७० सालमा ललितपुरको पार्टी अध्यक्ष भएका थिए।

Skip This
Logo