मण्डनदेउपुरमा एकाएक किन चर्चामा आए विष्णुमणि ?

मण्डनदेउपुरमा एकाएक किन चर्चामा आए विष्णुमणि ?


राम्रो जागिर, राम्रै आम्दानी, खुसी र सम्पन्न परिवार। पारिवारिक सुखसयल त्यागेर पाँच वर्षअघि वडाअध्यक्ष बन्छु भनेर गाउँ फर्कदा धेरैले विष्णुमणि नेपाललाई ‘मुर्ख’ को संज्ञा दिएका थिए । त्यतिबेला एमालेको शक्तिशाली संगठन तोड्न उनलाई निक्कै अप्ठ्यारो थियो । २०७४ सालकाे स्थानीय तह निर्वाचनमा गाउँका लागि केही गर्छु भनेर नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बने विष्णुमणि । 

उनकाे घर वडा नं. १० मा थियाे । त्यहि वडाबाट उम्मेदवार बने उनी । वडाका चार पदमा एमाले विजयी भयो। वडाअध्यक्ष भने उनले जिते । चुनाव जितेपछि केही दिन निद्रा लागेन । जनताको विश्वासलाई कसरी सेवामा परिणत गर्ने भनेर दिनरात लागे । 

स्नातकोत्तरसम्मको पढाई, सामाजिक क्षेत्रमा लामो अनुभव । उनले त्यसलाई समृद्ध वडा बनाउन प्रयोग गरे । नेपाली कांग्रेस मण्डनदेउपुरमा चार वटा वडामा विजयी बनेको थियो । तर अरुभन्दा उनी अब्बल नै देखिए । योजना बनाए, कांग्रेस, कम्युनिष्ट भनेनन् , सफलताको एउटा मार्ग प्रस्तुत गरे। नभन्दै पार्टीले समेत अपग्रेड गरायो । 

राजनीतिमा थकान भन्ने शब्द हुँदैन भन्ने उदाहरण नै बने विष्णुमणि । फलोअप अनि फलोअप, त्यसले उनलाई सफल बनायो । भूकम्पपछिको जरजर भएको ठाउँमा केही नौला प्रयास थाले । कारितास नेपालसँगको समन्वयमा सबै घर तोकिएको समयमा पुरा गरे । एक घर एक धारालाई सबै घरमा पुर्याए । सो अभियानपछि मण्डनदेउपुर नगरपालिकाभरि फैलियो ।  सिंचाइको पोखरी बनाए । जिल्ला वनसँगको सहकार्यमा जिल्लाकै नमुना हरितपार्क बनाएर समुदायलाई हस्तान्तरण गरे । पक्की सडकमा जोड दिए । घर घरमै पुगेर बृद्धभत्ता बाँडे । आफ्नो निजी जग्गा स्वास्थ्य कार्यालयलाई दिएर नगरकै नमूना स्वास्थ्यचौकी बनाए । 

जसले निःस्वार्थ भावनाले समाजसेवा गर्छ उसले सामाजिक र राजनीतिक जीवनमा पनि सफलता हात पार्छ । त्यसको उदाहरण पनि हुन् विष्णुमणि । एमालेबाट जितेको मेयर अनि एमालेबाटै जितेका प्रदेश सभा र संघीय सांसद । तर गाउँको विकासका लागि उनले एक पटक हैन पटक पटक फओअप गरे । आफ्ना गाउँका पूर्वप्रशासक समाते । जसले जे गर्न सक्छ त्यसका लागि निरन्तर प्रयास गरे । फलस्वरुप उमादेवी माईको मन्दिर बन्यो। थामिडाँडामा भ्यू टावर । 
चन्द्रमा पनि खोट देखिन्छ । चुनाव जितेको दिनदेखि उनले भनेका थिए, म अध्यक्ष पदमा पुनः दोहोरिएर आउँदिन भनेर । उनले नभन्दै समयमै राजीनामा दिए। 

पार्टीले समय आएपछि हल्ला गर्ने र काम गर्ने मान्छे छुट्याउँछ भनेजस्तै उनलाई अहिले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवार बनायो । उनले अब एमालेकी उम्मेदवार सरिता ढकालसँग प्रतिस्पर्धा गर्दैछन् । महिलाको भाग खोसेर उम्मेदवार बनेको केहीले आरोप लगाए पनि मण्डनदेउपुरकै सबैभन्दा चर्चामा रहेका उम्मेदवार भने बनेका छन् उनी । त्यसैले विष्णुमणिलाई मण्डनदेउपुरकै मणि भनेर सम्बोधन गर्न थालिएको छ।

Logo