बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन


बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् । 

यसैगरी स्थानीय तह निर्वाचनका लागि ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन् । 

उनले बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरूप सुरक्षा प्रबन्ध मिलाइएको बताए । स्थानीय तह निर्वाचनको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । 

उनले भने, ‘बाँके भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकोले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशीलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएका छौ ।’ भारतसँग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्रहरू अत्यन्तै संवेदनशील रहेको सुरक्षा विश्लेषण रहेको छ । 

उनले मतदान केन्द्रको सुरक्षा तीन प्रकारका सुरक्षा निकायले आपसी समन्वयमा गर्ने र शान्तिपूर्वक मतदान गराउन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम सेवकको भूमिका रहने गरी व्यवस्था मिलाइएको बताए । उनले मतदानमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर पठाइएको बताए । 

उनले निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउनको लागि नेपाल–भारत सीमा ७२ घण्टाको लागि शील गर्ने दुई पक्षीय सहमति भई सकेको र २०७९ वैशाख २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सीमा क्षेत्रबाट आवागमन पूर्ण रूपले बन्द हुने जानकारी दिँदै उनले भने, ‘हामी कहाँ स्थानीय तहको निर्वाचन हुने कुरा काउन्टर पार्टसलाई जानकारी गराउँदै ७२ घण्टा सीमा शील गर्ने सहमति गरेका छौ ।’

Logo