के घट्ला त बदर मत !

के घट्ला त बदर मत !


स्थानीय तहको निर्वाचनको मतदान हुने दिन नजिकिँदैछ । उक्त निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ । ३० गते हुने मतदातका लागि निर्वाचन आयोगले ४८ घण्टासम्म मौन अवधि तोकेको छ ।

मौन अवधिभर निर्वाचनमा होमिएका उम्मेदवार तथा ती आवद्ध राजनीतिक दलका कुनै पनि गतिविधि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा सम्प्रेषण गर्न तथा प्रचारप्रसार गर्न पाइदैन । निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति तथा तीनका राजनीतिक दलले आफ्नो प्रचारप्रसार गरिसकेका छन् ।
 
तर यो निर्वाचनमा पनि जम्मा खसेको मतमध्ये कति मत बदर हुने हो भन्ने आशंका ज्यूका त्युँ छ । आशंका यसअर्थमा कि यो निर्वाचनमा मतदाता शिक्षा नै सञ्चान भएन् । निर्वाचनको सम्पुर्ण जिम्मेवार निकाय निर्वाचन आयोगले यस वर्ष निर्वाचन शिक्षा सञ्चालन गर्न चासो देखाएन । 

यसअघिका निर्वाचनहरूमा आयोगले निर्वाचन शिक्षाका लागि ठुलो धनराशी खर्च गर्ने गरेको थियो । यद्यपी त्यो त्यति प्रभावकारी भने थिएन । तर यो निर्वाचनमा भने आयोगले निर्वाचन शिक्षा नै सञ्चालन गरेन ।
 
त्यसो त अहिले बदर मत घटाउन विद्युतीय मतदानको कुरा चर्चामा आउने गरेको छ । तर त्यो चर्चामै सीमित हुने गर्छ । छिमेकी मुलुक भारतमा केही समय पहिले भएको पाँचवटा राज्यको निर्वाचनमा विद्युतीय माध्यमबाट निर्वाचन सम्पन्न गरिएको थियो । जसमा बदर मतको संख्या शुन्य थियो । तर नेपालमा विद्युतीय मतदानको विषय उठान भएपनि प्रविधि प्रयोग गर्ने चाहना भने देख्न पाइएको छैन । 

२०७४ सालको संसदीय निर्वाचनमा काठमाडौँको एक नम्बर निर्वाचन क्षेत्र र विभिन्न उपनिर्वाचनहरूमा यसको प्रयोग भइसकेको थियो । तर यो निर्वाचनमा भने मतदाताले कागजमै मतदान गर्नुपर्ने भएको छ । विद्युतीय मेसिनको प्रयोगले बदर मतको संख्या घट्न सक्ने अपेक्षा भएपनि यसपटक कागजमै मतदान गर्नुपर्ने भएकाले बदर मत घटाउने सन्दर्भमा चुनौती थपिने देखिन्छ । 

एउटा मतदाताले प्रयोग गरेको आफ्नो मत बदर हुनु भनेको राम्रो विषय होइन । तर यसपटक मतदाता शिक्षा नभएकाले यो संख्या घट्ने अपेक्षा अहिलेका लागि थाँती रहेको छ । आयोगले मतदाता शिक्षा सञ्चालनमा चासो नदेखाएपछि यो निर्वाचनमा अन्य निकायले पनि चासो दिएनन् । जसको प्रत्यक्ष असर वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा पर्ने देखिन्छ । 

यो निर्वाचन लक्षित गरेर कुनै पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल बताउछन् । प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको भए पनि रेडियो, टेलिभिजन, फेसबुक तथा मोबाइलको रिङ व्याकटोन मार्फत मतदाता शिक्षा कार्यक्रम भने सञ्चालन भएको आयोगले बताउँदै आएको छ । तर हाम्रा सबै मतदातासँग प्रविधिको पहुँच छैन । जसले गर्दा सबैमा मतदाता शिक्षा पुग्न सकेको छैन । 

कहिले कति भयो मत बदर 
इतिहासमा भएका विभिन्न निर्वाचनमा मत बदर हुँदै आएका छन् । त्यो निर्वाचन शिक्षाको कमी तथा यस्तै राजनीति दलबीचको गठबन्धनका कारणले हुने गरेका छन् । २०४८ सालको निर्वाचनमा तीन लाख २२ हजार २३ मत बदर भएको पाइन्छ भने २०५६ को संसदीय निर्वाचनमा दुई लाख ४४ हजार ९०२ मत बदर भएको थियो । २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ र २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ३ दशमलव १८ प्रतिशत मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५ लाख ४८ हजार पाँच सय ७० र प्रदेशसभामा चार लाख ५० हजार चार सय ९४ मत बदर भएको थियो । 
समानुपातिकतर्फ प्रतिनिधिसभामा ९ दशमलव ८४ प्रतिशत अर्थात् १० लाख ४२ हजार सात सय ७७ र प्रदेशसभातर्फ १४ दशमलव ८१ प्रतिशत अर्थात् १५ लाख ६८ हजार एक सय ९१ मत बदर भएको थियो । 

यो निर्वाचनमा पनि त्यो संख्या कम हुने देखिदैन । कारण राजनीतिक दलबीचको गठबन्धन । मतदाताले गठबन्धनको उम्मेदवारलाई मत दिँदा विभिन्न प्रकारका चुनाव चिन्हमा दिनुपर्ने छ । जसका कारण बदर मत कम गर्न चुनौती हुनेछ ।
 

Logo