आफ्नै पालिका जोगाउन नेताहरुलाई हम्मेहम्मे

आफ्नै पालिका जोगाउन नेताहरुलाई हम्मेहम्मे


स्थानीय निर्वाचन अन्तर्गत हालसम्म देशभरका ७५३ वटा पालिकामध्ये झण्डै दुई सय पालिकाको नतिजा आइसकेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि अहिले मतगणना तीव्र रुपमा चलिरहेको छ । 

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित पाँचदलीय गठबन्धनले अग्रता लिएको देखिन्छ । नेकपा एमालेले गठबन्धनलाई पछ्याइरहेको छ । 

मतगणना जारी रहँदा राजनीतिक दलका शीर्ष तथा चर्चित नेताहरूले आफ्नै गृह जिल्लामा हार भोगिरहेका छन् । शीर्ष नेताहरुले आफ्नै गृहपालिकामा आफ्नो दललाई जित दिलाउन सकिरहेका छैनन् । पालिकाको नेतृत्वमा मात्रै हैन वडामा पनि आवद्ध पार्टी पराजित भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको वडामै नेपाली कांग्रेस पराजित भएको छ । गन्यापधुरा गाउँपालिका १ मा कांग्रेस  (वीपी) का उम्मेदवार नरेश भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । यो वडामा कांग्रेस वीपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो।

त्यस्तै देउवाको निवास रहेको काठमाडौंको बुढानीलकण्ठ ३ मा स्वतन्त्र उम्मेदवार आकाश धितालले जित हासिल गर्दा कांग्रेस भने तेस्रो स्थानमा रह्यो । यो वडामा एमाले भने दोस्रो भएको छ । 

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा २ स्थित दमक नगरपालिकामा पनि एमाले पछि परेको छ। हालसम्म प्राप्त विवरणअनुसार यो पालिकामा राप्रपाले अग्रता लिइरहेको छ । यता ओलीको निवास रहेको भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले पराजित भएको छ। यो वडामा कांग्रेसले अध्यक्षसहित सबै सदस्य जितेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर चितवनको भरतपुर महानगरमा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो स्थानमा छिन् । एमालेका विजय सुवेदीले उनलाई उछिनिरहेका छन् । 

त्यस्तै नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा नेता खनालका वडा सदस्यका उम्मेदवारसमेत पराजित भएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका अध्यक्षसहितको टिम बिजयी हुँदा नेकपा एसका एक जना मात्र सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने एमालेका खड्गबहादुर गुरुङसँग पराजित भएका हुन् । 

जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको गृहजिल्ला गोरखाका अधिकांश पालिकाहरुमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता हासिल गरेका छन् । नेता भट्टराईको पालिका पालुङटार नगरपालिकामा जसपा तेस्रो स्थानमा छ । यो पालिकामा माओवादीले अग्रता लिएको छ । 

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहनगर इलाम नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जसपा बाहेकको सत्तागठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा मेयरका उम्मेदवार छन् । गएको निर्वाचनमा यो पालिका एमालेले जितेको थियो । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गृहपालिका गोरखाकै सिरानचोक गाउँपालिकामा ठूलो मतान्तरका साथ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गोरखाकै अन्य पालिकामा माओवादीले जित हासिल गर्दा यो पालिकामा भने माओवादी दोस्रो भएको छ । 

सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ मा माओवादी पराजित भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका छविलाल न्यौपाने ४ मतले विजयी हुँदा माओवादीका पुरुषोत्तम सापकोटा १ मतले पराजित भएका हुन् । 

नेकपा एमालेका सचिव गोकर्ण विष्टको गृहपालिका गुल्मीको इस्मा गाउँपालिकामा नेकपा एमाले पराजित भएको छ । यो पालिकामा नेपाली कांग्रेसका उम्मेदवार भगवत सिंह खड्का विजयी भएका छन् । 

एमालेकै अर्का सचिव योगेश भट्टराईको घर रहेको ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका ४ मा एमाले पराजित भएको छ । यो वडामा गठबन्धनले वडाअध्यक्षसहित ४ सदस्य जित्दा एमाले भने एउटा सदस्यमा सीमित भएको छ । २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष, उपाध्यक्षसहित ६ वटै वडा जितेको थियो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको वडामा समाजवादी तेस्रो स्थानमा सीमित भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ मा नेपाली कांग्रेसका थुमबहादुर बिसीले समाजवादीका डम्बरबहादुर शाहलाई पराजित गरेका हुन् । यो पालिकामा मेयर उपमेयरमा तीन दलीय गठबन्धन भए पनि वडाहरूमा भने तालमेल हुन सकेन । 

एमालेका अर्का नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । यद्यपी नेता बास्कोटाको घर रहेको वडा नम्बर ४ मा भने एमालेले जित हासिल गरेको छ ।

माओवादी केन्द्रकी नेता तथा पूर्वमन्त्री बिना मगरको निर्वाचन क्षेत्रमा पर्ने कन्चनपुरको बेलडाँडी गाउँपालिकामा माओवादी पराजित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी मगरको गृहपालिकामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

आफ्नै पालिका जित्न नसक्नेहरूमा बहालवाला मन्त्रीहरूसमेत रहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहनगरमा नेकपा एमाले भारी मतका साथ विजयी भएको छ । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेले लोकप्रिय मतका साथ जित हासिल गरेको हो ।

पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेको गृहपालिका डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानै टीम दोहोरिएको छ। यो पालिकामा समाजवादी तेस्रो भएको छ ।

त्यस्तै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिका ४ को वडामा समाजवादी पराजित भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन भएपनि यो वडामा भने एमालेले जित हाँसिल गरेको छ ।

Logo