इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक

इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक


इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेकाे छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार केशव थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् ।

थापाले १३ हजार एकसय ६५ मत पाउँदा  चेम्जुङले १० हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि नेपाली कांग्रेसलेनै विजय हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सिता रिजाललाई उपप्रमुखमा पराजित गरेकी हुन् । दाहालको १३ हजार पाँच सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाइन् ।

इलाम नगरपालिकामा २०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन । २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए । १८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा शुसिला नेम्वाङ निर्वाचित भएका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा जित हासिल गरेको हो । १२ वटा वडा रहेको इलाम नगरपालिकामा कांग्रेसले नौवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले तीनवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष तिजेको छ भने बाँकी सवै वडाध्यक्ष कांग्रेसले जितेको छ ।

Logo