बाराको निजगढमा एमालेको ‘कमब्याक’

बाराको निजगढमा एमालेको ‘कमब्याक’


बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ ।

एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत फिर्ता गरेको हो ।

मेयर पुरीले ९४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुरोस खनालले ८६५९ मत पाए । उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि राज दङ्गाले ८५१८ मतमा चित्त बुझाए । २०४२ देखि निजगढमा पकड जमाउदै आएको एमालेले गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो ।

१३ वटा वडा रहेको निजगढमा ०७४ को निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष एमालेले जितेको थियो । मेयरमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल विजयी भएका थिए । यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले पराजित गरे ।

२०४३ को गाउँ पञ्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेल प्रधानपञ्च निर्वाचित भएका थिए । त्यसयता ०७४ को स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए । 

‘जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रुपमा हेरिएको थियो,' एमाले मधेस प्रदेश कमिटी सदस्य एवं निजगढका पूर्वगाविस अध्यक्ष एकबहादुर श्रेष्ठले भने, यसपटक एमालेले आफ्नो शाख कायम राखको छ ।’  

एमालेले यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ मध्ये ५ वडाध्यक्ष जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १०  गरी पाँचवटा वडामा विजयी भएको छ । कांग्रेस अघिल्लो निर्वाचनमा एमालेले  जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेसले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ । 

Logo