१६ असार २०७९ बिहीबार
1
1
1
1

स्थानीय तह निर्वाचनका १० रोचक मत परिणामहरु (भिडियाेसहित)

1
1
1
1

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मत परिणाम आउने क्रम जारी छ। यो रिपोर्ट तयार गर्दासम्म नेपाली कांग्रेसले २६४ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा एमाले र माओवादी केन्द्र क्रमशः १६७ र १०७ स्थानीय तहमा विजयी भएका छन्।

यसैबीच देशभरिका विभिन्न स्थानमा रोचक नतिजाहरु आएका छन्। कतै शून्य मत रहेको समाचारहरु आएका छन्, कतै एक मतले पराजित भएको त कतै विजय जुलुस मनाइसकेपछि पराजित भएको भन्ने रोचक समाचारहरु सार्वजनिक भइरहेका छन्। हामीले यस्तै १० रोचक मत परिणामहरु यो रिपोर्टम प्रस्तुत गरेका छौँ।

१) दुई मतले गाउँपालिका अध्यक्षमा हार–जित
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा दुई मतले हार–जित भएको छ। पालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीका अनुसार लालचनले ७६० मत ल्याएका छन् भने एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्।

२) विजयी जुलुसपछि पुन मतगणना, १ मतले पराजित
काभ्रेमा २ मतको अन्तरले विजयी भइसकेका तेमाल गाउँपालिका–१ को वडाध्यक्ष कालदास लामालाई धेरैले बधाई दिए। ३० बर्षपछि कम्युनिष्टको गढ तोडिएको भन्दै सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो लाग्यो। विजयी जुलुस पनि भयो तर, पुन मतगणना गर्नुपर्ने एमालेले अडान लियो। आफू जितिहाल्ने भने कांग्रेसका मतगणना प्रतिनिधीले पनि विरोधका विच समर्थन जनाए ।

सुरुमा कालदासले ५३१ र एमालेका इन्द्रबहादुर अधिकारीले ५२९ भोट ल्याएका थिए। पुनः मतगणना हुँदा अधिकारीले ५३१ र कालदासले ५३० मत ल्याएपछि अधिकारीलाई विजयी घोषणा गरिएको छ ।

३) उपमेयरमा राप्रपा उम्मेदवारको १ मत मात्र
मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्। उक्त गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन्।

४) दुई स्थानमा १ मतको हार–जित
काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्। थिङले एमालेका आशाराम गोलेलाई १ भोटले हराएका हुन्। माओवादीका थिङले ५४८ मत ल्याउँदा एमालेका गोलेले ५४७ मत ल्याएका छन्। त्यस्तै गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले पनि आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले हराउँदै वडाध्यक्ष विजयी भएका छन्।

५) भाइलाई हराउँदै दाजु वडाध्यक्षमा निर्वाचित
इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरी निर्वाचित भएका हुन्। दाजुले ६१० मत पाउँदा भाईले ४८८ मत पाएका छन्। 

६) गोला थुतेर वडाध्यक्षमा विजयी
रोल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो। दुवै उम्मेदवारले ५४३ मत प्राप्त गरेसँगै भएको गोलाप्रथामा प्रकाश डाँगी विजयी भएका छन्। 

७) वडामा सबै स्वतन्त्र विजयी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। स्वतन्त्ररूपमा उम्मेदवार बनेका सुन्दर ओलीले ५७७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका  प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत ल्याएका छन्। अरू चार जना सदस्यमा पनि स्वतन्त्र नै निर्वाचित भएका छन्।

८) जसले १ मत पनि पाएनन्
गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन्। ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए। राजनीतिप्रति वितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकाललाई वडाबाट १ मत पनि प्राप्त भएन । १४६९ मत खसेकोमध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने ।

निर्वाचन अधिकृत कार्यालयले वडा भरको मतपरिणाम सार्वजनिक गर्यो । तर, ढकाललाई १ मत पनि प्राप्त भएको देखिएन। त्यसपछि सामाजिक सञ्जालहरुमा ढकाल आफैले आफैलाई समेत मतदान नगरेको भन्दै विभिन्न पोष्टहरु आउन थाल्यो । आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । 

९)मत एउटाको विजयी अर्कै
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन्। आफ्नो नामको अंग्रेजी वर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् । 

नामको सुरुको अक्षरको अंग्रेजी वर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सूर्य र ज्ञानबहादुरले दुई सूर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सूचीमा ज्ञानबहादुरको नाम ‘ज्ञ’बाट हुनुपर्नेमा ‘ग’बाट भएकाले उनलाई निर्वाचन अधिकृतको कार्यालयले एक सूर्य चुनाव चिन्ह उपलव्ध गरायो । 

वर्णानुक्रममा ग्यानबहादुरभन्दा पछि आउने भएकाले रतनबहादुरलाई दुई सूर्य चिन्ह प्रदान गर्यो । तर उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव चिन्हका बारेमा ख्याल गरेनन्। उनीहरु एकले अर्कालाई भोट मागेको पत्तै भएन । ३० वैशाखमा मतदान पनि भयो । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि भने ज्ञानबहादुर खंग्रङग भए । ज्ञानबहादुरले मागे अनुसार दुई सूर्यमा ४८५ मत र रतनबहादुरले मागेको एक सूर्यमा ३९७ मत प्राप्त भयो। मतको आधारमा दुई सूर्यवाला उम्मेदवार विजयी भए ।

१०) वागी उम्मेदवारलाई १ मत मात्रै
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ मा नेपाली कांग्रेसका वागि उम्मेदवार हरिप्रसाद आचार्यले १ मत मात्रै प्राप्त गरेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्ररुमा चुनावि मैदानमा होमिएका उनले एक मत मात्रै प्राप्त गरेका हुन्।

 

केन्द्रविन्दु टिभी

प्रकाशित: ५ जेठ २०७९ २१:२५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी