काठमाडौं महानगर: सिर्जनाभन्दा केशव स्थापित ११८ मतले अगाडि, कसको कति मत ?

काठमाडौं महानगर: सिर्जनाभन्दा केशव स्थापित ११८ मतले अगाडि, कसको कति मत ?


काठमाडौं महानगरपालिका प्रमुखका चुनावी प्रतिष्पर्धामा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीचको मतान्तर घट्दै गएको छ। 

सार्वजनिक मतपरिणामअनुसार समग्र नतिजामा तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितसँगको मतान्तर घटाएकी छन्। 

९३ हजार ६४७ मतपत्र गणना हुँदा सिंह र स्थापितबीचको मतान्तर मात्र ११८ मत रहेको छ। तेस्रो स्थानमा रहेकी सिंहले १८ हजार ४२९ मत पाउँदा स्थापितले १८ हजार ५४७ मत ल्याएका छन्। सुरुवातबाटै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अहिलेसम्म ३४ हजार १३० मत प्राप्त गरेका छन्। 

काठमाडौंका घना नेवा बस्तीमा साहको पकड कमजोर देखिँदा सिंह र स्थापितबीच भने प्रतिष्पर्धा देखिएको छ। मखन टोल, जनबहाल र महावौद्ध क्षेत्रमा स्वतन्त्र उम्मेदवार साहको यो क्षेत्रमा पकड कमजोर देखिएको छ। मतगणना जारी रहेका विभिन्न १० वडामध्ये वडा नम्बर २४, २५ र २७ मा उनी अन्य वडाको तुलनामा कमजोर देखिएका छन्। 

मखन टोल क्षेत्रमा पर्ने वडा नम्बर २४ मा गणना भएका ११ सय ४७ मतमध्ये एमालेका उम्मेदवार केशव स्थापितले २९२ मत ल्याएका छन्। कांग्रेसकी उम्मेदवार सिंहले २४३ प्राप्त गर्दा साहको पक्षमा २१३ मत आएको छ। 

जनबहाल क्षेत्रमा पर्ने वडा नम्बर २५ मा खसेको कुल मतमध्ये शनिबार बिहानसम्म २ हजार १७८ मत गणना भएको छ। जसमध्ये स्थापितले ५२५, शाहले ३५१ र सिंहले ३२२ मत पाएका छन्। 

घना नेवा वस्ती मानिने जनबहालमा कांग्रेस र एमालेको लगभग बराबरी भोट छ। २०७४ को चुनावमा यस वडाबाट कांग्रेसका नीलकाजी शाक्य १ हजार ५२५ मतका साथ विजयी भएका थिए। एमालेले यस वडामा १ हजार ४९० मत पाएको थियो।  

महावौद्ध क्षेत्रमा पर्ने वडा नम्बर २७ मा २ हजार ८६६ मत गणना हुँदा एमालेका स्थापित अग्रस्थानमा छन्। उनले ८३६ मत ल्याएका छन्। 

यो वडामा स्वतन्त्र उम्मेदवार ४५९ मतसहित तेस्रो स्थानमा छन्। यहाँ कांग्रेस उम्मेदवार सिंहले ७३८ मत पाएकी छन्। नेवार समुदायको बाक्लो बसोबास रहेको महावौद्ध क्षेत्रमा २०७४ को चुनाव एमालेका चिनियामान बज्राचार्य १ हजार ५६६ मतका साथ विजयी भएका थिए। यहाँबाट कांग्रेसले १ हजार ३५८ मत पाएको थियो। 

अहिले काठमाडौंका ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ। १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ।

Logo