यी हुन् एमाले, कांग्रेस र माओवादीले विरासत गुमाएका पालिकाहरू (भिडियाेसहित)

यी हुन् एमाले, कांग्रेस र माओवादीले विरासत गुमाएका पालिकाहरू (भिडियाेसहित)


स्थानीय तह निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ। ०७४ सालको स्थानीय निर्वाचनमा गुमेको विरासत फर्काउँदै कांग्रेस पहिलो दल बन्ने पक्का भएको हाे। हालसम्म कांग्रेसले ३१४ वटा पालिका जितिसकेको छ भने ११ पालिकामा अग्रता कायम गरेको छ।

विपक्षी दल नेकपा एमालेले भने २ दशकपछि ०७४ सालमा फर्काएको विरासत यो निर्वाचनमा गुमाएको छ। हालसम्मको परिणामअनुसार एमाले दोस्रो दल बन्ने देखिएको छ । अघिल्लो निर्वाचनमा २९४ पालिका जितेको एमालेले यो निर्वाचनमा हालसम्म १९५ पालिका जितेको छ भने ११ पालिकामा अग्रता कायम गरेको छ । 

त्यस्तै सत्ता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्र भने तेस्रो दल बन्ने भएको छ । माओवादीले १२० पालिकामा जित हासिल गरेको छ भने २ पालिकामा अग्रता कायम गरेको छ । त्यसैगरी गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टीले २९ स्थानमा जीत हासिल गरेको छ भने २ ठाउँमा अग्रस्थानमा छ । एमालेबाट फुटेर गएको सत्तागठबन्धन पार्टी नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ पालिकामा अग्रता कायम गरेको छ । 

यो निर्वाचनबाट राजनीतिक दलहरूले नयाँ 'पोजिशन' बनाउँदै गर्दा विगतमा गढ मानिएका, प्रभाव जमाएका केही क्षेत्रमा भने दलहरूले पार्टीको विरासत गुमाएका छन् । त्यसो त राजनीतिमा स्थायी विरासत भन्ने कुरामा त्यति विश्वास गरिँदैन । तर दलहरूले चुनाव जितेको आधारमा आफ्नो गढ क्षेत्र भनेर दाबी भने गर्दै आएका छन् ।

हालसम्मको मतपरिणामअनुसार प्रतिपक्षी दल नेकपा एमाले महानगरमा ‘निल’ हुने देखिएको छ । एमालेले गत निर्वाचनमा पोखरा र काठमाडौँ महानगर जितेको थियो । महानगरको मतपरिणाम आउन केही दिन लाग्ने देखिन्छ। तर अहिलेसम्मको परिणामलाई मूल्यांकन गर्दा एमालेले गत निर्वाचनको विरासत गुमाउने देखिन्छ । 

६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै सत्तारुढ दल कांग्रेस पनि विभिन्न क्षेत्रमा पराजित भएको छ । प्रतिपक्षी दल एमालेले पनि विगतमा जितेको धेरै ठाउँ गुमाएको छ। सशस्त्र संघर्षबाट आएको माओवादीले पनि आफ्नो आधार क्षेत्र मानिने रोल्पा, रुकुम, कालिकोट लगायतका क्षेत्रमा आफ्नो विरासत गुमाएको छ । 

यहाँ हामीले हालसम्म नतिजा आएका पालिकाहरूमध्ये केही पालिकाहरूको नतिजा उदाहरणको रूपमा प्रस्तुत गरेका छौं। 

यी हुन् एमालेले गुमाएका पालिकाहरू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापास्थित गृहपालिका दमक नगरपालिकामा एमाले पराजित भएको छ। एमालेका गीता अधिकारी राप्रपाका रामकुमार थापासँग पराजित भएकी हुन्। पार्टी अध्यक्षको पालिकामै एमाले पराजित भएको विषय अहिले चर्चाको विषय बनेको छ ।  

अघिल्लो निर्वाचनमा जितेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका एमालेले गुमाएको छ। अघिल्लो निर्वाचनमा युवा उम्मेदवार जिताएर पालिकामा राम्रो काम गरेको भनेर चर्चामा आएको टेम्केमैयुङमा यो निर्वाचनमा भने एमालेले अध्यक्ष जिताउन सकेन। 

गठबन्धनबाट कांग्रेसका उम्मेदवार सरोज बस्नेत यो पालिकाको अध्यक्षमा विजयी भएका छन् । उनले एमालेका ध्रुव राईलाई पराजित गरेका हुन् । 

त्यस्तै खोटाङको जन्तेढुंगामा पनि एमाले पराजीत भएको छ। अघिल्लो निर्वाचनमा विजयी भएको एमालेलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राईले पराजित गरेकी हुन् । एमालेका शंखरबहादुर राई अरूणादेवीसँग पराजीत गरेका हुन्।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पनि कांग्रेसका उम्मेदवार आइतमान तामाङ विजयी भएका छन् । उनले एमालेका बालकृष्ण देउजालाई पराजित गरेका हुन् । यो पालिकामा कांग्रेस र राप्रपाको चुनावी तालमेल थियो । ०७४ सालको निर्वाचनमा एमालेका डम्बर अर्याल विजयी भएका थिए । अर्यालसँग केही मतले कांग्रेसका आइतमान तामाङ पराजित भएका थिए । यसपटक पुनः मेयर पदमा उम्मेदवारी दिएका तामाङले दोस्रो प्रयासमा बाजी मारेका हुन् ।

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमाले तेस्रो भएको छ । यो पालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलकराम लम्साल विजयी भएका छन् । लम्सालले माओवादी केन्द्रका नेत्रराम आचार्यलाई पराजित गरे । गएको निर्वाचनमा मेयरमा निर्वाचित भएका एमालेका घननारायण श्रेष्ठ यो निर्वाचनमा भने तेस्रो भएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका पनि एमालेले गुमाएको छ। गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका चेतराज बजालले एमालेका सुरतबहादुर सिंहलाई पराजीत गरेका हुन्। ०७४ सालको निर्वाचनमा यो नगरपालिकामा एमाले ७४ मतान्तरले निर्वाचित भएको थियो ।
त्यस्तै बझाङकै छबिसपाथिभेरा गाउँपालिकामा पनि एमाले पराजीत भएको छ। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बसन्त चलाउने यो पालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनले एमालेका रामप्रसाद भट्टलाई पराजीत गरेका हुन् । गएको निर्वाचनमा यो पालिकाको अध्यक्ष/उपाध्यक्षसहित पाँचवटा वडाध्यक्ष एमालेले जितेको थियो ।

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा एमालेका उम्मेदवार २ मतको अन्तरले पराजित भएका छन्। कांग्रेसका उम्मेदवार मोहनसिंह लालचनले एमालेका सञ्जयकुमार थकालीलाई २ मतले पराजीत गरेका हुन्। 

यसैगरी गुल्मीको रेसुंगा नगरपालिका पनि एमालेले गुमाएको छ। कांग्रेसका खिलध्वज पन्थीले एमाले उम्मेदवार राजेन्द्र पाण्डेलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। यसअघिको निर्वाचन रेसुंगामा एमालेले जितेको थियो।

दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) विजयी भएका छन् । एमालेका धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । 

दार्चुलाकै नौगाड गाउँपालिकामा पनि एमाले पराजित भएको छ। सत्ता गठबन्धनबाट माओवादीका दलजित धामी नौगाडको अध्यक्षमा निर्वाचित भएका छन्। उनले एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई पराजित गरेका हुन् ।

यसैगरी डोल्पाको दुई गाउँपालिकामा भने एमालेले मनोनयन नै दर्ता गराएन । अघिल्लो निर्वाचन जितेको काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा एकीकृत समाजावदीका अध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। यी दुवै पालिकामा अघिल्लो निर्वाचन एमालेले जितेको थियो ।

चितवनको खैरहनीमा पनि नेकपा एमालेले आफ्नो गढ क्षेत्रमा गुमाएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका शशीकुमार खनियाँ निर्वाचित भएका छन् ।

२०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित भएका पूर्व सांसद् समेत रहेका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गरेका हुन् । 

अघिल्लो निर्वाचन जितेको रोल्पाको रून्टीगढी गाउँपालिका पनि एमाले पराजित भएको छ । अघिल्लो निर्वाचनमा एमालेले रोल्पाका त्रिवेणी र रुन्टीगढी गाउँपालिका जितेको थियो । तर यो निर्वाचनमा भने एमालेले त्रिवेणी जितेपनि रुन्टीगढी गुमाएको छ। यो पालिकामा कांग्रेसका जनक पुन अध्यक्षमा निर्वाचित भएका  छन्। नेकपा (माओवादी केन्द्र)का गोविन्द पुन दोस्रो भए भने एमाले तेस्रो स्थानमा झरेको छ ।

धनकुटाको सागुरीगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र राई विजयी भएका छन् । २०७४ को निर्वाचनमा पाख्रिबास नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित सबै वडामा क्लिन स्विप गरेको थियो। तर यसपालि भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गुरूङ विजयी भएका छन्। त्यस्तै धनकुटाको छथर जोरपाटी गाँउपालिका समेत एमालेले गुमाएको छ। यो पालिकामा कांग्रेसले अध्यक्ष जितेको छ ।

दैलेखमा पनि एमालेले २०७४ मा जितेका पालिकाहरू गुमाएको छ । एमालेले जितेको चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, ठाँटीकाध गाउँपालिकामा यो निर्वाचन कांग्रेसले जितेको छ। एमालेको गढका रुपमा चिनिएका ती पालिकाहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरु भारी मतसहित विजयी भएका छन्। 

एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङको गृहपालिका मैवाखोलामा एमाले पराजित भएको छ। यो पालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा गठबन्धनले जित्दा एमाले एउटा वडामा सिमित भएको छ। २०७४ मा एमालेले अध्यक्ष-उपाध्यक्षसहित  ६ वटै वडा जितेको थियो । 
त्यसैगरी संघीय राजधानी काठमाडौँसँगै जोडिएको काभ्रे जिल्लामा पनि एमालेले विगतको विरासत गुमाएको छ। काभ्रेका १३ वटा स्थानीय तहमध्ये एउटा पालिकामा मात्रै एमालेले जीत हासिल गरेको छ । काभ्रेको धुलिखेल नगरपालिकामा एमालेका अशोककुमार ब्याञ्जु विजयी भएका हुन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीलाई टिकट दिएपछि त्यसको विरुद्धमा कांग्रेसका विदुर बस्नेतले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसबाट बागी उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामै आएनन् ।

त्यसो त काभ्रे एमाले नेता गोकुल बाँस्कोटाको गृहजिल्ला हो । बाँस्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा पनि एमालेले पराजय ब्यहोरेको छ। बाँस्कोटाको वडामा भने एमालेले चुनाव जितेको छ । 

यी हुन् कांग्रेसले गुमाएका पालिकाहरू

निर्वाचनबाट पहिलो दल बन्दै गरेको सत्तारुढ दल नेपाली कांग्रेसले पनि आफ्ना गढ क्षेत्र गुमाएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा पनि कांग्रेस पराजीत भएको छ । वडामा नेपाली कांग्रेस विपीका उम्मेदवार निर्वाचित भएपनि पालिकामा भने कांग्रेसले जितेको छ।

त्यस्तै कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्रमै कांग्रेस पराजित भएको छ। गएको निर्वाचन हारेको रामधुनी र गढीमा यो निर्वाचनमा भने एमालेले साख फर्काएको छ। यस क्षेत्रमा कांग्रेसले विजय हासिल गर्दै आएको थियो तर, यो निर्वाचनमा भने कांग्रेस पराजित भएको छ। 

गढी गाउँपालिका कांग्रेस नेता विजय गच्छदारको आधार क्षेत्र हो । यो पालिकामा एमालेका आशनारायण चौधरी निर्वाचित भएका छन् । उनले कांग्रेसका महेश दत्तलाई पराजित गरेका हुन्।
सुनसरीको रामधुनीमा पनि एमालेले मेयर उपमेयर नै जितेको छ। एमालेका शंकर चौधरीले कांग्रेसका सुदीप अधिकारीलाई हराएका हुन् । 

जुम्लाको चन्दननाथ नगरपालिकामा पनि कांग्रेस पराजित भएको छ । यो नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका पदमबहादुर शाहीलाई पराजित गरेका हुन् । २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेसबाट कान्तिका सेजुवाल प्रमुखमा र उपप्रमुखमा माओवादीबाट अप्सरादेवी न्यौपाने निर्वाचित भएका थिए ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पनि कांग्रेस पराजित भएको छ। यसअघिको निर्वाचनमा प्रमुख जितेको कांग्रेसले अहिले भने एमालेले नगरप्रमुख जितेको छ। 

एमाले उम्मेदवार किशोर लिम्बू ९३३ मतान्तरले दोधारा चाँदनीको मेयरमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई पराजित गरेका हुन्।

पूर्वी र पश्चिम दुवै नवलपरासीमा यो निर्वाचनमा कांग्रेस कमजोर देखिएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका पनि कांग्रेसले गुमाएको छ। सरावतको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका सुखाडीप्रसाद चौधरीले कांग्रेसका अनिलकुमार पौडेललाई पराजित गरेका हुन्। गएको निर्वाचनमा कांग्रेसबाट राधेश्याम चौधरी अध्यक्षमा निर्वाचित भएका थिए। तर यो निर्वाचनमा भने उनले कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी, बौदीकाली, बुलिङटार गाउँपालिका पनि कांग्रेसले गुमाएको छ। ती तीनै पालिकामा विगतमा कांग्रेसले जित्दै आएको थियो। विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम गिरी यो पालिकाको अध्यक्षमा विजयी भएका छन् । गिरीले कांग्रेसका डम्बर जिसीलाई पराजित गरेका हुन् । कांग्रेसबाट पराजित जीसी निवर्तमान अध्यक्षसमेत हुन् । 

पूर्वीनवलपरासीकै बौदीकाली गाउँपालिकामा पनि एमाले एमालेका प्रकाश ओझा विजयी भएका छन्। कांग्रेसको गढ क्षेत्र यो पालिकामा ओझाले कांग्रेसका खड्कबहादुर राना (केबी)लाई पराजित गरेका हुन्। अघिल्लो निर्वाचनमा यो पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेको थियो।

यसैगरी पूर्वी नवलपरासीकै बुलिङटार गाउँपालिकामा एमालेका दिपेन्द्र सुनारी मगर निर्वाचित भएका छन् । २८ वर्षे इञ्जिनियर दिपेन्द्रले कांग्रेसका निवर्तमान अध्यक्षसमेत रहेका शशीकिरण बस्ताकोटीलाई पराजित गरेका हुन् । यो क्षेत्रमा यसअघि एमालेले जित्न सकेको थिएन । 
अघिल्लो निर्वाचन जितेको मुस्ताङका ३ पालिकामा कांग्रेसले आफ्नो विरासत गुमाएको छ । मुस्ताङको थासाङ, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र कांग्रेसले गुमाएको हो । थासाङ गाउँपालिकामा एमालेका प्रदीप गौचन कांग्रेसकी बालकुमारी शेरचनलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

मुस्ताङकै अर्को पालिका लोमान्थाङ गाउँपालिकामा पनि एमालेका उम्मेदवार टसी न्हुर्वु गुरुङ निर्वाचित भएका छन् । उनले कांग्रेसका टसी गुरुङ पराजित भएका हुन् । त्यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पनि कांग्रेसले गुमाएको छ । यो पालिकामा एमालेका रिङजीन नामगेल गुरुङले कांग्रेसका आङ्जेन गुरुङलाई पराजित गरेका हुन् । 

बझाङको साइपाल गाउँपालिका पनि कांग्रेसको हातबाट गुमेको छ । यो पालिकामा एमालेका मानबहादुर बोहराले कांग्रेसका उज्वल बोहोरालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । 
त्यस्तै म्याग्दीको मालिका गाउँपालिका पनि पनि कांग्रेसले गुमाएको छ एमालेका उम्मेदवार बेग प्रसाद गर्वुजा मगरले कांग्रेसका श्रीप्रसाद रोकालाई पराजित गरेका हुन् । 

दैलेखको नौमुले गाउँपालिका पनि कांग्रेस उम्मेदवार पराजित भएका छन् । माओवादी केन्द्रका छविराम सुवेदीले कांग्रेसका भदे बुढामगरलाई पराजित गरेका हुन् । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। यो पालिकामा माओवादी र समाजवादीको गठबन्धन थियो । 

यसैगरी बाराको निजगढ नगरपालिका पनि कांग्रेसले गुमाएको छ। यो पालिकामा एमालेका उम्मेदवार सुरथ पुरी मेयरमा निर्वाचित भएका छन्। उनले कांग्रेसका सुरेशकुमार खनाललाई हराएका हुन् । यो पालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल भएको थियो। ०७४ को निर्वाचनमा निजगढको मेयर कांग्रेसले जितेको थियो भने एमालेले उपमेयर जितेको थियो। त्यतिबेला पनि यो पालिकामा कांग्रेस-माओवादीबीच चुनावी तालमेल थियो।

कांग्रेस नेता डा. शेखर कोइरालाको गृह जिल्ला मोरङमा पनि कांग्रेस कमजोर देखिएको छ। गठबन्धनको विरोधमा उत्रिएका कोइरालाको गृहजिल्लामा अघिल्लो उपलब्ध जोगाउन कांग्रेसलाई धौ धौ परेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा भत्काएको लाल किल्ला यसपाली एमालेको पोल्टामा सुम्पिएको छ। लालकिल्ला मानिएका लेटाङ र केराबारीमा एमालेले जितेको छ। 

यी हुन् माओवादीले गुमाएका पालिकाहरू

यो निर्वाचनमा माओवादी केन्द्रले पनि आफ्नो प्रभाव क्षेत्रका केही ठाउँमै चुनाव हारेको छ। माओवादी केन्द्रको प्रभावक्षेत्र मानिने रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसका जिल्ला उपसभापति हरिबहादुर पुन विजयी भएका छन् । यो पालिकामा माओवादी तेस्रो भएको छ । हरिबहादुरले एमाले उम्मेदवार रोशनकुमार वलीलाई पराजित गरेका हुन् । 'माओवादी–समाजवादी' गठबन्धनका साझा उम्मेदवार वीरबहादुर केसी यो पालिकामा तेस्रो भएका हुन् । 
माओवादीको गढ मानिने धनुषाको सहिदनगरमा माओवादीले अघिल्लो उपलब्धी गुमाएको छ । यो निर्वाचनमा सहिदनगरमा जसपाले मेयर र कांग्रेस उपमेयर जितेको छ । निवर्तमान कान्छो मेयर उदयकुमार बरबरिया यादवलाई तेश्रो नम्बरमा पार्दै जसपाका जसपाका दिनेशप्रसाद यादव मेयर पदमा विजयी भएका हुन्। 

त्यस्तै माओवादीको गढ मानिएको अर्को पालिका तनहुँको बन्दिपुर गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका सुरेन्द्रबहादुर थापाले माओवादी केन्द्रका पूर्णसिंह थापालाई पराजित गरेका हुन् । 

पर्साको ठोडी गाउँपालिकामा माओवादीको विरासत तोड्दै एमाले विजयी भएको छ । एमालेका लालबहादुर श्रेष्ठ गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमा एमालेकै अगोकुलीकुमारी रेग्मी निर्वाचित भएका हुन् । एमालेका श्रेष्ठले माओवादी केन्द्रका पदमलाल श्रेष्ठलाई पराजित गरेका हुन्। माओवादीका श्रेष्ठ २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए।

कालीकोटको तिलागुफा नगरपालिका पनि माओवादीले गुमाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले यहाँ माओवादीलाई पराजित गरेको हो। नेपाली कांग्रेसका शंकरप्रसादले माओवादी केन्द्रका दिनेश चदाँरालाई पराजित गरेका हुन् । कालीकोट कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्ला हो । यो जिल्लामा माओवादीलाई पराजीत गर्दै कांग्रेस अघि बढेको छ ।

त्यस्तै अर्को आधारक्षेत्र रुकुममा माओवादी कमजोर भएको छ। अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा माओवादीले साख गुमाएको हो। सदरमुकामसमेत रहेको मुसीकोटको नगर प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्। उनले माओवादीका वसन्तकुमार शर्मालाई १३ मतको झिनो अन्तरले पराजीत गरेका हुन् । नेता शर्माको वडा मुसीकोट–५ मा कांग्रेस उम्मेदवार समीरजंग मल्ल विजयी भएका छन् । रुकुम पश्चिमकै बाँफीकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका जनककुमार बाँठाले माओवादीका चन्द्रबहादुर केसीलाई पराजित गरेका छन् ।

 

Logo