स्थानीय निर्वाचन: पालिका प्रमुखमा निर्वाचित हुने महिलाको संख्या ३ प्रतिशत(भिडियाे)

स्थानीय निर्वाचन: पालिका प्रमुखमा निर्वाचित हुने महिलाको संख्या ३ प्रतिशत(भिडियाे)


स्थानीय तह निर्वाचनको अधिकांश मत परिणाम आइसकेको छ । ७५३ पालिकामध्ये हालसम्म ७४३ वटा पालिकाको नतिजा आइसकेको छ भने १० पालिकाको मत गणना भइरहेको छ ।

हालसम्मको परिणामअनुसार पालिकाको प्रमुख पदमा निर्वाचित हुने महिलाको संख्या भने २५ जना मात्रै छ । यो ३.३२ प्रतिशत मात्रै हो । अहिले गणना भइरहेका पालिकाहरूमा महिला उम्मेदवार भए पनि ती उम्मेदवारले जित्ने सम्भावना कम भएका कारण निर्वाचित हुने पालिका प्रमुख महिलाको संख्या २५ मै सीमित हुने देखिएको छ ।

मनोनयन दर्ता गर्दा नै पालिका प्रमुखमा ५.६७ प्रतिशत महिला उम्मेदवारले मात्र मनोनयन दर्ता गरेका थिए । जसमध्ये करिब आधा मात्रै निर्वाचित भएका छन् । देशभर निर्वाचित भएका २५ महिला प्रमुख मध्ये प्रदेश १ बाट ६ जना, मधेस प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ६ जना, गण्डकी प्रदेशबाट ३, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका छन् ।

जसमा १ जना महानगरपालिकाको प्रमुख, १ जना उपमहानगरपालिकाको प्रमुख, ११ जना नगरपालिकाको प्रमुख र १२ जना गाउँपालिका अध्यक्ष रहेका छन् । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल र मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मिनाकुमारी लामा निर्वाचित भएका छन् ।

राजनीतिक दलअनुसार नेकपा एमालेबाट १०, नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ४ तथा नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका हुन् ।

प्रदेश १ बाट झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रादेवी महतारा, मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङ्नाम, झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा विमला राई, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा मिनादेवी कार्की, खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरूणादेवी राई निर्वाचित भएका छन् ।

मधेस प्रदेशबाट रौतहटको मौलापुर नगरपालिकाको अध्यक्षमा रीनाकुमारी साह, सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुखमा कल्पना कटुवाल, सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुखमा गीता कुमारी चौधरी र रौतहटको ईशनाथ नगरपालिकाको प्रमुखमा कौशल्या देवी निर्वाचित भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट चितवनको माडी नगरपालिकाको प्रमुखमा ताराकुमारी काजी महतो, सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा पार्वती सुनुवार, सिन्धुलीको सुनकोसी गाउँपालिकाको अध्यक्षमा दीपा बोहोरा दाहाल, काभ्रेको चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा रेणुका चौलागाई निर्वाचित भएका छन् ।

यस्तै गण्डकी प्रदेशबाट पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा हिरादेवी शर्मा, बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी पाण्डे निर्वाचित भएकी छिन् ।

लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल, पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा सरस्वती दर्लामी चिदी मगर, कर्णाली प्रदेशबाट सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल, दैलेखको भैरवी गाउँपालिकाको अध्यक्षमा रिता शाही, सुदूरपश्चिम प्रदेशबाट कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुखमा शुशिला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा ७ जना प्रमुखमा र ११ जना अध्यक्ष गरी १८ जना महिलाहरू पालिका प्रमुखमा निर्वाचित भएका थिए भने ६२ जना वडाध्यक्षमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कुल ३५ हजार ४१ स्थानीय जनप्रतिनिधि निर्वाचित भएकामा १४ हजार ३ सय ५२ जना महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।

कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउदा नै कम बनाएका कारण पालिका प्रमुखमा महिलाको संख्या न्यून हुने गरेको छ । अघिल्लो निर्वाचनमा उपप्रमुख तथा उपाध्यक्षमा अनिवार्य महिला उम्मेदवार बनाउने व्यवस्थाका कारण धेरै महिलाहरू निर्वाचित भए पनि यो निर्वाचनमा त्यो व्यवस्था नहुँदा उपप्रमुख तथा उपाध्यक्ष पदमा निर्वाचित हुने महिलाको संख्या कम भएको छ ।

चुनावमा गठबन्धन गरेका राजनीतिक दलले फरक-फरक पार्टीबाट उम्मेदवारी दिँदा प्रमुख तथा उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार उठाएका थिए । जसका कारण उपप्रमुख तथा उपाध्यक्ष पदमा महिलाको संख्या स्वतः घटेको छ ।

नेकपा एमालेबाट निर्वाचित पालिका प्रमुख/अध्यक्षहरू

1.   झापाको बिर्तामोड नगरपालिकाः मेयरमा पवित्रादेवी महतारा

2.   मोरङको कानेपोखरी गाउँपालिका: अध्यक्षमा राजमती इङ्नाम

3.   रौतहटको मौलापुर नगरपालिकाः अध्यक्षमा रीनाकुमारी साह

4.   सर्लाहीको बरहथवा नगरपालिकाः मेयरमा कल्पना कटुवाल

5.   चितवनको माडी नगरपालिकाः मेयरमा ताराकुमारी काजी महतो

6.   सिन्धुलीको फिक्कल गाउँपालिकाः अध्यक्षमा एमालेकी पार्वती सुनुवार

7.   पर्वतको मोदी गाउँपालिकाः अध्यक्षमा हिरादेवी शर्मा

8.   पश्चिम नवलपरासीको सुनवल नगरपालिकाः विमला अर्याल

9.   पाल्पाको बगनासकाली गाउँपालिकाः अध्यक्षमा सरस्वती दर्लामी चिदी मगर

10.               सुर्खेतको विरेन्द्रनगर नगरपालिकाः मेयरमा मोहनमाया ढकाल

नेपाली कांग्रेसबाट निर्वाचित पालिका प्रमुख/अध्यक्षहरू

1.   झापाको गौरीगन्ज गाउँपालिकाः अध्यक्षमा फूलवती राजवंशी

2.   खोटाङको हलेसी तुवाचुङ नगरपालिकाः मेयरमा विमला राई

3.   सोलुखुम्बुको लिखुपिके गाउँपालिकाः अध्यक्षमा मिनादेवी कार्की

4.   सप्तरीको सुरुङ्गा नगरपालिकाः मेयरमा गीता कुमारी चौधरी

5.   बागलुङको बडिगाड गाउँपालिकाः अध्यक्षमा गण्डकी थापा अधिकारी

6.   नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिकाः अध्यक्षमा लक्ष्मीदेवी पाण्डे

7.   दैलेखको भैरवी गाउँपालिकाः अध्यक्षमा रिता शाही

8.   कैलालीको लम्की चुहा नगरपालिकाः मेयरमा शुशिला शाही

9.   अछामको पञ्चदेवल विनायक नगरपालिकाः मेयरमा अम्बिका चलाउने

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका पालिका अध्यक्षहरू

1.   खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष, अरूणादेवी राई

2.   सिन्धुलीको सुनकोसी गाउँपालिकाः अध्यक्ष, दीपा बोहोरा दाहाल

3.   काभ्रेको चौरीदेउराली गाउँपालिकाः अध्यक्षमा रेणुका चौलागाई

4.   चितवनको भरतपुर महानगरपालिकाः मेयरमा रेनु दाहाल

नेकपा एकीकृत समाजवादी

1.   मकवानपुरको हेटौंडा उपमहानगरपालिकाः प्रमुखमा मीनाकुमारी लामा

लोकतान्त्रिक समाजवादी पार्टी

1.   रौतहटको ईशनाथ नगरपालिकाः मेयरमा कौशल्या देवी

Skip This
Logo