राजनीतिक अपेक्षा र उपेक्षाको द्वन्दबाट जन्मिएको स्वतन्त्र लहर (भिडियाे)

राजनीतिक अपेक्षा र उपेक्षाको द्वन्दबाट जन्मिएको स्वतन्त्र लहर (भिडियाे)


गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनले स्वतन्त्र र युवा उम्मेदवारहरूको लहर ल्याएको छ । देशको विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् । त्यसो त ५ दलीय गठबन्धनका कारण असन्तुष्ट रहेका नेता कार्यकक्र्राहरुले कतिपय स्थानमा बागी उम्मेदवारी समेत हाले र कतिपयले जित समेत हात पारे । आजको यस शृखलामा हामी महानगर र उपमहानगरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जित हात पारेका व्यक्तिहरूको विषयमा चर्चा गर्नेछौँ ।

हर्कराज राई (सम्पाङ), धरान उपमहानगरपालिका

धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै हर्कराज राई (साम्पाङ)को चर्चा देशव्यापीरुपमा चुलिएको छ । हुन त हर्क साम्पाङ टुप्पोबाट पलाएको नाम हैन उनी धरानको माटोसँग जोडिएका छन् । उनले लामो समयदेखि धरानको खानेपानीको समस्यालाई आफ्नो मुद्दा बनाएका छन् । साम्पाङले स्वास्थ्य, भ्रष्ट्राचार, आर्थिक अनियमितता, प्राकृतिक सम्पदाको अतिक्रमण लगायतका विषयमा समेत आवाज उठाउँदै आएका छन् । 

त्यसो त साम्पाङको जन्म खोटाङको खार्तम्छामा भएको थियो । उनले खोटाङकै शुक्रबारे माविबाट एसएलसिसम्मको अध्ययन सम्पन्न गरे । उनी उच्च शिक्षाका लागि २०५५ सालमा धरान झरेका हुन् । उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन् । त्यसपश्चिात उनी वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षका लागि इराक र अफगानस्थान गएका थिए ।

हर्कका बुबा पूर्व ब्रिटिस लाहुरे हुन् । हर्कले केही समय धरानका ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर विषय पढाए पनि ।

साम्पाङको स्थायी बसोबास धरान १८ मा रहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका धरानका मेयर तारा सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनमा उनी खानेपानीको धारो चुनाव चिन्हसहित मैदानमा उत्रिएका थिए । त्यसबेला उनले ४ सय २२ मत मात्रै पाए । त्यसपछि पनि उनी रोकिएनन् आफ्नो कामलाई निरन्तरता दिए । कहिले घरानका चोकहरूका एक्लै माइकिङ गर्दै चिच्याइरहए । त कहिले समस्याको समाधान खोज्न जनतासँगै कुदिरहे । अन्ततः उनले धरानका जनताको मन जितेर मत पाए ।

साम्पाङ गत आइतबार धरानको मेयरमा निर्वाचित भएका हुन् । उनले २०, ८२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् ।

गोपाल हमाल, धनगढी उपमहानगरपालिका

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । हमालले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

हमालले २६,८६५ मत पाउँदा निवर्तमान मेयर समेत रहेका वडले १४,८१७ मत पाएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले हमाललाई नै पराजित गरेका थिए ।

यसअघि विवेकशील साझा पार्टीका सदस्य रहेका हमालले पार्टी परित्याग गरेर आफूलाई स्वतन्त्र रूपमा उभ्याएका थिए । उनी उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । उनी २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका थिए ।

हालै सम्पन्न निर्वाचनमा उनले धनगढीलाई नमुना सहर बनाउने नारा अघि बढाएका थिए । उनको पूख्यौली घर कपिलवस्तु भएका पनि उनका हजुरबुबाको पाला देखी नै उनीहरू कैलालीमै बस्दै आएका छन् ।

२०२० साल जेठ १६ गते कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा जन्मिएका हमालले धनगढीकै त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् । उनले कैलाली बहुमुखी क्याम्पसबाट उच्च शिक्षा लिएका हुन् ।

बालेन शाह काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारीको घोषणा गरेपछि एकाएक चर्चामा आएको नाम हो बालेन शाह । नेपाली र्‍यापर बालेन काठमाडौँ महानगरलाई परिवर्तन गर्ने उद्देश्यका साथ अहिले चुनावी मैदानमा छन्। स्वतन्त्रबाट महानगरको मेयरमा उम्मेदवारी दिएका बालेन काठमाडौँमा जन्मे हुर्केका हुन्। आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकल्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । 

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार बालेनको उम्मेदवारीले विशेषगरि युवापुस्ता उत्साहित छन् । उनले काठमाडौं महानगरमा लिएको सुरुवाति अग्रता हाल पनि कायम नै छ । त्यसो त उनको जित सुनिश्चित भइसकेको छ । यो सामाग्री तयार पार्दासम्म गन्न बाँकी भोट भन्दा बालेनको मतान्तर बढी छ । 

आफू इञ्जिनयर भएको र काठमाडौँको विकास गर्ने योजना आफूसँग रहेको भन्दै अहिले उनी चुनावी दौडमा निस्किएका थिए । लामो समयदेखि राजनीति दलहरूले जनतालाई झुक्याउँदै आएको भन्दै साँच्चिकै काठमाडौँको विकास गर्न सक्ने नयाँ पुस्ताको आवश्यकता महसुस गरेर आफू निर्वाचनमा होमिएको उनको भनाइ छ। काठमाडौँको मेयरमा उनले पाएको मतलाई अन्देखा नगर्ने हो भने  अर्को निर्वाचनका लागि राजनीतिक दललेसमेत सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ।

 

Logo