ललितपुरका स्थानीय तहमा कार्यपालिका निर्वाचन सुरु

ललितपुरका स्थानीय तहमा कार्यपालिका निर्वाचन सुरु


ललितपुरका सबै स्थानीय निकायको मतपरिणाम सार्वजनिक भएसँगै  निर्वाचन अधिकृतहरूलाई कार्यपालिका निर्वाचनको चटारो छ । स्थानीय निकायको काम कारबाहीलाई सघाउन गठन हुने कार्यपालिका स्थानीय निकायमा मन्त्रिपरिषद जस्तै संयन्त्र हो ।

जिल्लाभित्र रहेका सबै पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयहरूले निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन् । ललितपुर महानगरले शनिबार उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

पालिकास्थित निर्वाचन अधिकृतहरूका अनुसार महालक्ष्मी, गोदावरी, कोञ्ज्योसोम र बागमती गाउँपालिकामा शुक्रबार मनोनयनको लागि समय तोकिएको छ । महालक्ष्मी नगरपालिकामा कार्यपालिका निर्वाचन आँउदो बिहीबार हुँदै छ  । अन्य गोदावरी नगरपालिका,  बागमती, कोञ्जोसोम गाउँपालिकामा आउँदाे मंगलबारका लागि निर्वाचनकाे मिति तोकिएको छ ।

निर्वाचनको सम्भावना कम

ललितपुरको सबै ठाँउमा गठबन्धनको बहुमत रहेका कारण कार्यपालिका निर्वाचनको सम्भावना कम र र्निविरोध निर्वाचित हुने सम्भावना रहेको निर्वाचन अधिकृतहरु बताउँछन् । महालक्ष्मी नगरपालिकाकी निर्वाचन अधिकृत शारदा फुँयाल आवश्यक संख्याभन्दा धेरै उम्मेदवारी नपरेको खण्डमा निर्वाचन नहुने बताउँछिन् । पालिकाभित्रका भर्खरै निर्वाचित मेयर उपमेयर वडाध्यक्ष र वडासदस्यहरूले मतदान गर्ने हुँदा कसले जित्ने हार्ने भन्ने निश्चित हुन्छ । त्यसैले दलहरूले मिलाए नै मनोनयन दर्ता गर्ने र र्निविरोध घोषणा हुने सम्भावना छ ।

महांकालमा र्निविरोध

महांकाल गाउँपालिकामा कार्यपालिका आवश्यक संख्याभन्दा धेरै उम्मेदवारी मनोनयन नपरेपछि र्निविरोध विजय घोषणा गरिएको छ । महांकाल गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका अनुसार रेनुका सञ्जेल, मन्दिरा तिमल्सिना घिमिरे, देवीमाया लामा र लक्ष्मी सञ्जेल निर्वाचितमध्ये महिला कार्यपालिका सदस्य निविरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा अल्पसंख्यक र दलितबाट गुप्तबहादुर ब्रामु र चित्रकुमारी विश्वकर्मा निविरोध निर्वाचित घोषित भए । 

बिहीबार कार्यपालिका सदस्यहरुको घोषणासँगै महाँकाल गाउँपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय स्थगित गरिएको छ । निर्वाचन अधिकृत ज्ञावालीले भनिन्, ‘अब १५ दिनभित्र हाम्रो काम प्रतिवेदन पेश गर्ने समय छ ।’

Logo