मतदान केन्द्रमा सिसी क्यामेरा राख्न आयोगलाई दलहरूकाे सुझाव

मतदान केन्द्रमा सिसी क्यामेरा राख्न आयोगलाई दलहरूकाे सुझाव


राजनीतिक दलहरूले आगामी वैशाख १७ र २७ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका मतदान केन्द्र र स्थलमा सिसी क्यामेरा प्रयोग गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।  

आयोगले आगामी निर्वाचनका लागि तयार पारेको निर्वाचन आचारसंहिताका बारेमा छलफल गर्न बोलाएको बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले मतदान केन्द्र र स्थलमा सिसि क्यामेराको प्रयोग गर्न माग गरेका हुन्। ‘मतदान पश्चात मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने क्रममा दल तथा उम्मेद्धारका प्रतिनिधिहरूलाई सँगै आउने व्यवस्था मिलाउनुपर्ने र मतदानस्थलमा सिसि क्यामेराको प्रयोग गर्ने लगायतका महत्वपूर्ण सुझावहरू दलका प्रतिनिधिहरूले दिनुभएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘अब सबै सुझावलाई समेटेर अन्तिम रूप दिई छिट्टै निर्वाचन आचारसंहिता जारी गर्छाैं।’ आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको मस्यौदामा आचारसंहिता उल्लंघन गरेमा एकलाख रूपैयाँ जरिबाना हुनेदेखि उम्मेदवारी नै खारेजीसम्मका प्रावधानहरू राखिएका छन्।  

राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने, अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनुपर्ने, राजनीतिक दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्ने लगायतका मागहरू पनि राखेका छन्।  

निर्वाचन आचारसंहिताको विषयमा सुझाव लिन आयोगले बोलाएको उक्त छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने विभिन्न १२ वटा राजनीतिक दल उपस्थित थिए। छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षबाट बाबुराम दाहाल, पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबाट लीलामणि पोखरेल र नेपाली कांग्रेसको तर्फबाट आनन्द ढुंगानालगायतका प्रतिनिधि सहभागी थिए।नागरिकबाट

Logo