१ सय २१ जना पण्डितले गरे पशुपतिमा क्षमापूजा, सुनको जलहरी राखिँदै

१ सय २१ जना पण्डितले गरे पशुपतिमा क्षमापूजा, सुनको जलहरी राखिँदै


पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो ।

१ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरू गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । जलहरी राख्नु अघि भारतबाट आएका २५ जना पण्डित तथा नेपालका ९६ पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिरहेका पण्डित लक्ष्मण पन्थी बताउनुहुन्छ । सो पूजा आगामी बुधबारसम्म चल्नेछ ।सुनको जलहरी निर्माण कार्य थालिएका एक हप्तामा सुनको जलहरी राखिसक्ने कोषले जनाएको छ । 

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ । सुनको जलहरी बनाउन १ सय ८ किलो सुन लाग्ने कोषले जनाएको छ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड रुपियाँ बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिनुभएको थियो ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करिब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट बेहोर्ने जनाइएको छ । पशुपति विकास कोषका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजकसमेत रहनुभएका मिलनकुमार थापाले यस विषयमा केही बताउन चाहनुभएन ।

पूजा शास्त्र विपरीत !

पशुपतिनाथ मन्दिरको मूल ज्योतिर्लिङ्गमाथि राखिएको चाँदीको जलरीका ठाउँमा सुनको जलरी राख्न मिल्ने भए पनि हाल शुक्र अस्त भएका बेलामा कुनै पनि अनुष्ठान गर्न धर्मशास्त्रले वर्जित गरेको वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख देवमणि भट्टराई बताउनुहुन्छ ।

आफूसँग पशुपति विकास कोषले छलफल गर्दा यही राय सुझाएको भए पनि शुक्र अस्त भएकै समयमा किन पूजा–आजासहित जलरी परिवर्तन गर्न खोजिएको हो भन्नेबारे थाहा नभएको उहाँको कथन छ । विघ्न परे वा पर्न लागेमा मात्र क्षमापूजा गर्ने चलन रहेकाले शुक्रअस्त भएका बेला धुमधामका साथ पूजा गर्न नहुने वाल्मीकि विद्यापीठका प्राचार्य गणेशप्रसाद घिमिरेको भनाइ छ । त्यसै गरी, शुभ साइतका बारेमा सोधिएको प्रश्नमा विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष तथा पञ्चाङ्गकार लोकराज पौडेल दैनिक गरिने कार्यका लागि साइत हेर्न नपर्ने बताउनुहुन्छ ।नेपाल समाचारपत्रबाट

Logo