प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका पाँचै जना न्यायाधीश बिदामा

प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका पाँचै जना न्यायाधीश बिदामा


संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरुले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । 

सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए । सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात्र इजलास रहेको थियो । संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशमध्ये केही अझै दुई तीन दिन बिदामा रहने बताइएको छ ।

संवैधानिक इजलासमा रहेकामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । उनीहरुले एक महिनाभन्दा बढी लगातार इजलासमा बसी गैरकानुनीरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी दायर गरिएको रिट निवेदनको सुनुवाइ गरेका थिए । उनीहरु आराम गर्नका लागि पनि केही समय बिदामा रहेको बताइएको छ । प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीशहरुले गत माघ ४ गतेदेखि लगातार ती रिट निवेदनको पक्ष-विपक्ष र एमिकस क्युरीका तर्फबाट भएको बहस सुनेका थिए । उनीहरुले मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापना हुने आदेश दिएका  थिए ।

यसैबीच सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको आदेशले मुलुकको गम्भीर संवैधानिक समस्यालाई यथासमयमै निकास दिएको ठहर गरेको छ ।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले प्रेस विज्ञप्ति जारी गरी सर्वोच्चको यो आदेशले विधिको शासन, संविधानवाद र संवैधानिक सर्वोच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको स्पष्ट गरेका छन् । विज्ञप्तिमा उल्लेख छ– ‘सर्वोच्च अदालतबाट भविष्यमा पनि संवैधानिक सर्वोच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेका मूल्य मान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने कुरामा सर्वोच्च अदालत बार विश्वस्त रहेको छ ।’नेपाल समाचारपत्रबाट

Logo