१० वर्षमा १५ हजार आगलागीका घटना, ६ सय ८९ जनाको मृत्यु

१० वर्षमा १५ हजार आगलागीका घटना, ६ सय ८९ जनाको मृत्यु


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दश वर्षको अवधिमा देशभर आगलागीका १५ हजार २४६ घटना भएका छन् । जसमा ६८९ जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या दुई हजार ३४ पुगेको छ । आगलागीबाट यस अवधिमा १९ अर्ब ४१ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार दश वर्षको अवधिमा सबैभन्दा धेरै आगलागीका घटना काठमाडौं जिल्लामा भएको छ । यस अवधिमा काठमाडौंमा मात्रै एक हजार २२२ घटना भए । जसमा ५२ को मृत्यु भएको छ । दुई सय ९१ घाइते भएका छन् । आगलागी हुने दोस्रो ठूलो जिल्ला मोरङ हो । यस अवधिमा मोरङमा आठ सय ९७ आगलागीका घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् । ९१ जना घाइते भए । सबैभन्दा धेरै आगलागी हुने जिल्लामा सप्तरी पनि पर्छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष आगलागी तथा डढेलोको जोखिम धेरै हुन सक्ने अनुमान गरेको छ । पानी कम परेको र हावामा सुक्खापन ज्यादा रहेका कारण आगलागी तथा डढेलो लाग्ने जोखिम धेरै रहेको प्राधिकरणको दाबी छ । यस वर्षको हिउँदमा अत्यन्तै कम पानी परेको छ । त्यसैले हावामा सुक्खापन बढी छ ।

सुक्खाका कारण जंगलका पातपतिंगर सुकेको र त्यसलाई आगोको सानो झिल्कोले टिप्न सक्ने भएकाले भीषण डढेलोको जोखिम रहेको प्राधिकरणका सिइओ अनिल पोखरेलले बताए । ‘यस वर्षको हिउँदमा वर्षा नै भएनभन्दा पनि हुन्छ । जसकारण हावामा सुक्खापन ज्यादा छ । यस्तो हावामा आगो सल्किने सम्भावना धेरै रहन्छ । त्यसैले विगतभन्दा यस वर्ष आगलागी ज्यादा हुन सक्ने हाम्रो अनुमान छ,’ पोखरेलले भने, ‘गत वर्ष अस्ट्रेलियामा यस्तै कारण भीषण आगलागी भयो । त्यस्तै जोखिम यसपटक नेपालले व्यहोर्नुपर्ने हुन सक्छ भन्दै सचेत रहन आह्वान गरेका छौँ ।’नयाँ पत्रिकाबाट

Logo