मन्त्री प्रभु साहको निर्देशनमा गहुँबालीमा डोजर चल्यो, किसान धरधरी रोइरहे

मन्त्री प्रभु साहको निर्देशनमा गहुँबालीमा डोजर चल्यो, किसान धरधरी रोइरहे


सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनपछि सोमबार ना. १ ग ८०५ नम्बरको डोजरले एक बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली मैदान बनाइएको छ । डोजरले गहुँबाली फाँड्दै गर्दा केही किसान धरधरी रोइरहेका थिए । केही किसानले रगत–पसिना एक गरेर लगाएको बाली पाक्ने बेलामा मन्त्रीको निर्देशनमा नष्ट गरिँदा आफूहरूमाथि अन्याय भएको बताए ।

स्थानीय एक सञ्चारकर्मीले बनाएको भिडियोमा शिवकली देवी (५८) ले धुरुधुरु रुँदै आफ्नो ११ कट्ठा खेतमा लगाइएको गहुँबाली नष्ट गरिएको बताइन् । ‘यस वर्ष पहिलेभन्दा गहुँ राम्रो फलेको थियो । यस्तो वेला नगरपालिकाले गहुँमा डोजर लगाउँदा मेरो कलेजो च्यातिए जस्तो भइरहेको छ,’ रुँदै शिवकलीले भनेकी छिन् । उनका श्रीमान् कामेश्वर साहले ११ कट्ठा खेतमा लगाइएको गहुँबालीको १५ सय प्रतिकट्ठाका दरले क्षतिपूर्ति दिएर डोजर लगाइएको जानकारी दिए ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले किसानलाई क्षतिपूर्ति दिएरै गहुँबालीमा डोजर लगाइएको बताए । ‘शिवरात्रिका अवसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने गरी मेला आयोजना गरिँदै छ । त्यसक्रममा पुरातात्विक महादेव मन्दिरमा भगवान् शिवको पूजा–अनुष्ठान गरिँदै छ,’ साहले भने, ‘त्यसका लागि क्षतिपूर्ति दिएरै स्थानीयको एक बिघा पाँच कट्ठा खेतमा लगाइएको बालीमा डोजर लगाइएको हो ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले ११ कट्ठामा लगाइएको गहुँ, १० कट्ठमा लगाइएको मुसुरो र चार कट्ठामा लगाइएको प्याज बालीको क्षतिपूर्ति दिइएको बताए । ‘गहुँको १५ सय प्रतिकट्ठा, मुसुरोको २५ सय प्रतिकट्ठा र प्याजको दुई सय प्रतिकट्ठाका दरले किसानलाई नगरपालिकाले पैसा दिएको छ,’ उनले भने । नयाँपत्रिका दैनिकमा समाचार छ । 

Logo