संसद् प्रवेश गर्न कोरोनाविरुद्धको खोप अनिवार्य, सभामुखले आज लगाउने

संसद् प्रवेश गर्न कोरोनाविरुद्धको खोप अनिवार्य, सभामुखले आज लगाउने


प्रतिनिधिसभाका सांसदहरुले अनिवार्यरुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने भएको छ । फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नु अघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनु पर्ने भएको हो ।सांसदहरुलाई फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बुधबार कोरोना भाइरसविरुद्धको खोप लगाउने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

प्रतिनिधिसभामा २७५ सदस्य रहे पनि हाल २६९ जनामात्र सांसद रहेका छन् । सभामुख सापकोटाको मतदानमा सहभागी नहुने र नेकपाका सांसद सानु सिवाको मृत्यु भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई जना र जनता समाजवादी पार्टीका दुई जना सांसद निलम्बनमा परेका छन् । माघ १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको एक महिनापछि सांसदहरुले खोप लगाउने भएका छन् । 

नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । नागरिकले कोरोनाविरुद्धको खोप लगाइरहे पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले भने अझै कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

यसअघि कोरोनाको कारण संसद् बैठकमा प्रवेश गर्नका लागि संसद् सचिवालयले सांसदहरुले अनिवार्यरुपमा पीसीआर परीक्षण गरेर मात्र प्रवेश गराएको थियो । यसपटक भने खोप लगाएर मात्र प्रवेश गर्न दिने प्रावधान बनाएको छ । संसद् सचिवालयका अनुसार सांसद, संसद् सचिवालयका कर्मचारी र मर्यादापालकका लागि खोप अनिवार्यरुपमा लगाउनु पर्ने बताएको छ ।नेपाल समाचारपत्रबाट

Logo