प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन्, समर्थन फिर्ता नलिइ कसरी पत्याउनु ? : देउवा

प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन्, समर्थन फिर्ता नलिइ कसरी पत्याउनु ? : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा जान तयार रहेको बताएका छन्। 

झापा बुद्धशान्ति ७ का सहिद यामबहादुर आर्चायको सालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले भने, ‘धोका नहुने किसिमको निर्णय आयो भने कांग्रेस सरकारमा जान्छ। पटकपटक धोका दिएको कम्युनिस्ट सरकारको आँखा चिम्लेर विश्वास गर्न सकिँदैन।’ 

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई अझैसम्म समर्थन गरेकाले पत्याउने आधार नभएको उनको भनाइ छ। 

‘प्रधानमन्त्री बन्नुपर्छ सबैले भनेका छन्। प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन्। समर्थन फिर्ता लिएकै छैनन्’, देउवाले भने, ‘समर्थन फिर्ता नभइ कसरी पत्याउनु ?’ 

देउवाले पार्टीभित्र एकताको खाँचो भएको औल्याएका छन्। ‘चुनावमा जानुअघि पार्टीमा एकता हुनुपर्यो’, उनले भने, ‘पार्टीमा एकता भयो भने संसारको जुनसुकै तागतले पनि काँग्रेसलाई हराउन सक्दैन।’ 

उक्त कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले देशमा कसिंगर फैलाउने काम गरेको बताए। 

‘पार्टीभित्र भएको झगडाको झोकको भरमा अहिलेको सरकारले जनताको काम गरेको छ’, सिटौलाले भने, ‘नेपालको राजनीति संकट उन्मुख छ। देशको व्यवस्थालाई नै खत्तम पारिदिने खालको छ।’ 

सिटौलाले यस्तो अवस्थामा कांग्रेसले मात्र सबैलाई जोडेर हिड्न सक्ने क्षमता राख्ने बताए। कम्युनिस्ट सरकारलाई विस्थापित गर्ने कांग्रेस नै भएको उनको भनाइ छ। 

सशस्त्र द्वन्द्वको क्रममा मारिएका आचार्यको शालिक अनावरण कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य केशव बुढाथोकी, सुधीर शर्मा, गोपाल बस्नेत, जिल्ला सभापति उद्वव थापा लगायतले उनको स्मरण गरे।अन्नपूर्णबाट

Logo