‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदलाई कारबाही गर्न एमालेको सिफारिस

‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदलाई कारबाही गर्न एमालेको सिफारिस


नेकपा (एमाले)को कर्णाली प्रदेश संसदीय दलले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ।

दलको शुक्रबार साँझ बसेको बैठकले फ्लोर क्रस गर्ने एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत पाएका थिए। प्रदेशमा शुक्रवार भएको मतदानमा विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो। २० प्रदेश सभा सदस्यको मत चाहिनेमा शाहीले २२ मत प्राप्त गरेका थिए।

प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा (माओवादी केन्द्र)का १२ जना मात्र सांसद छन्। ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ। एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो। नेकपा (एमाले) का चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन्।नेपाल समाचारपत्रबाट

Logo