चालू आर्थिक वर्षमा ६ खर्ब ८७ अर्ब राजस्व संकलन, लक्ष्य भेट्न भने कठिन

चालू आर्थिक वर्षमा ६ खर्ब ८७ अर्ब राजस्व संकलन, लक्ष्य भेट्न भने कठिन


सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो ।

सरकारले चालू आव २०७७/७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

सरकारले आइतबारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ४७.९२ प्रतिशत मात्र राजस्व उठेको छ । ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्यमध्ये र ४७ अर्ब ३५ करोड ३ लाख राजस्व संकलन भएको छ ।

लक्ष्यको ३२ प्रतिशत राजस्व उठ्न बाँकी

आर्थिक वर्ष २०७७/७८ को गत फागुनसम्ममा संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको थियो । चालू आवको फागुनसम्ममा भन्सार महसुलमा २४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयकरको संकलनमा ५.४ प्रतिशतले कमी आएको थियो । सो अवधिसम्ममा गैरकर, आयकर र अन्य कर संकलनमा क्रमशः ११.७ प्रतिशत, ५.४ प्रतिशत र १.१ प्रतिशतले कमी आएको थियो भने अन्य शीर्षकको कर संकलनमा वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्ममा भन्सार बिन्दुमा संकलन हुने राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले वृद्धि भई २ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ पुगेको थियो। सो अवधिमा आन्तरिक करतर्फको राजस्व परिचालन ०.९४ प्रतिशतले संकुचन भइ २ खर्ब ६७ करोड रुपैयाँ रहेको छ।

पछिल्लाे पाँच वर्षको फागुनसम्म राजस्व परिचालन क्रमशः बढ्दै गएको छ । यद्यपि, पछिल्ला वर्षमा राजस्व परिचालनको वृद्धि दर भने तुलनात्मक रूपमा न्यून रहेको देखिन्छ । वित्तीय संघीयताको कार्यान्वयनसँगै घरबहाल कर, रजिस्ट्रेसन कर र सवारीसाधन कर परिचालनको अधिकार संघीय सरकारमा नरहने संवैधानिक व्यवस्थाको कारण पछिल्ला वर्षमा वृद्धिदर न्यून देखिएको हो।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार भन्सार महसुल दर २२ प्रतिशत उठेको छ । गत वर्ष सोही अवधिमा १९ प्रतिशत उठेको थियो । यसैगरी, मूल्य अभिवृद्धि कर ३१ प्रतिशत उठेको छ। गत वर्ष सोही अवधिमा ३० प्रतिशत उठेको थियो । अन्तशुल्क भने गत वर्ष र यसवर्ष वराबर रूपमा १५ प्रतिशत उठेको छ। आयकर गतवर्षको फागुनसम्ममा २५ प्रतिशत उठेकोमा चालू आवको फागुनसम्ममा कुल राजस्वको २२ प्रतिशत उठेको छ। गैरकर गत वर्ष ९ प्रतिशत पुगेकोमा यस वर्ष ८ प्रतिशतमा सीमित भएको छ।राजधानीबाट

Logo