रेम्डेसिभिरमा कालोबजारी : एक भाइलकै ४० हजार

रेम्डेसिभिरमा कालोबजारी : एक भाइलकै ४० हजार


कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’ मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कहीं भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउँछन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा ‘कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने’ प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमबार बेलुकीसम्म दुई निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदै छ, आउनेक्रम जारी रहन्छ ।’

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य ‘कसैले रेम्डेसिभिर कालोबजारी गरे त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने’ मा जोड दिन्छन् । राजधानी दैनिकमा समाचार छ । 

Logo