आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञामा बढी प्रभावित

आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञामा बढी प्रभावित


सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। 

कोभिड–१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र उठ्न नपाउँदै फेरि दोस्रो लहरको चपेटामा परेको छ। कुखुराको मासु र अण्डामा देशलाई आत्मनिर्भर बनाएको यस क्षेत्रमा झन्डै डेढ सय अर्ब लगानी छ। सरकारले जोगाउने उपाय नगरे आत्मनिर्भर रहन नसक्नेतर्फ उद्योगीहरूले सचेत गराएको जनाएका छन् ।

यस क्षेत्रमा गत वर्षको बन्दाबन्दीमा झन्डै ५० करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो । बन्द भएका कतिपय उद्योग अझै खुल्न सकेको छैनन्। अहिले फेरि बन्दाबन्दी सुरु हुनेबित्तिकै यो क्षेत्रका उद्योगी तथा किसानमा चिन्ता थपिएको छ। किसान तथा उद्योगी भन्छन्, “सरकारले ध्यान दिएन भने कारोबार बचाउन गाह्रो छ । ”

बन्दाबन्दी भएपछि अण्डा, चल्ला, कुखुरा उत्पादनदेखि बिक्री वितरणसम्म प्रभावित हुने गरेको छ। चल्ला तथा कुखुरा उत्पादन भए पनि बिक्री न्यून भएपछि त्यसलाई खाल्डोमा पुर्नुबाहेक अरू उपाय नहेको नेपाल ह्याचरी सङ्घका अध्यक्ष ऋषि पौडेलले बताए। अहिले चल्ला बिक्री २५ प्रतिशतमा झरेको छ।

अण्डाको मूल्य वृद्धि
यता अण्डाको मूल्यमा वृद्धि भएको छ। बन्दाबन्दीमा अण्डाको उत्पादन कम भयो र खपत धेरै भएपछि मूल्य वृद्धि भएको अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बताए। ठूलो अण्डा प्रतिक्रेट मूल्य ३७० रुपियाँ र मझौलाको ३४० रुपियाँ पुगेको छ। विगतको भन्दा मूल्यमा प्रतिक्रेट ३० रुपियाँ वृद्धि भएको उनले बताए। यो मूल्य पोल्ट्रीफार्मको हो, थोक हुँदै खुद्रासम्म पुग्दा यसको मूल्य प्रतिक्रेट चार सयसम्म पुग्ने अनुमान गरिएको छ। सरकारले अण्डाको लागत मूल्य ११ रुपियाँ ५३ पैसा तय गरेको छ तर लागत मूल्य बढेका कारण पनि बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको अण्डा उद्योगी बताउँछन् ।गाेरखापत्रबाट

Logo