वैदेशिक रोजगारीमा कोभिड–१९ काे असर, साढे चार लाखले रोजगारी गुमाए

वैदेशिक रोजगारीमा कोभिड–१९ काे असर, साढे चार लाखले रोजगारी गुमाए


कोभिड–१९(कोरोना)को महामारीका कारण पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षको अवधिमा ६० देशबाट चार लाख ५३ हजार ८४७ जना फर्किएका छन् तर त्यो सङ्ख्याको रोजगारी व्यवस्थापनमा पहल नगर्दै नयाँ कोरोनाको त्रास बढेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयालले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाको व्यवस्थापनका लागि सरकारीस्तरबाट सकारात्मक काम भएको दाबी गरे। उनले गत वर्षको कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई व्यवस्थापन गर्न विभिन्न मन्त्रालयमार्फत झन्डै ११ लाखका लागि रोजगारी सिर्जना गर्नेगरी बजेट विनियोजन गरिएको र यसको समीक्षा हुन बाँकी रहेको बताए।

केन्द्रका अनुसार यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक लाख ४० हजार २१६ जनाले रोजगारी गुमाएर स्वदेश फकिएका छन्। यस्तै सो अवधिमा कतारबाट रोजगारी गुमाएर फर्किनेको सङ्ख्या एक लाख पाँच हजार ७७४ छ भने मलेसियाबाट ४८ हजार ४३५ जनाले रोजगारी गुमाएर फर्किए। त्यसैगरी साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारत (उडान)बाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

त्यसैगरी सिङ्गापुरबाट पाँच हजार ५०३, ओमनबाट पाँच हजार ३७६ र दक्षिण कोरियाबाट तीन हजार ५६२, चीनबाट तीन हजार ५५८, हङकङ र मकाउबाट तीन हजार १६४ जना सो अवधिमा फर्किएका छन् ।

बङ्गलादेशबाट दुई हजार ५९५, बहराइनबाट एक हजार ३५५, अस्ट्रेलियाबाट एक हजार २४४ र माल्दिभ्सबाट एक हजार १८ जना कोभिड–१९ को असहज परिस्थितिका कारण रोजगारी गुमाएर स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।गोरखापत्रबाट

Logo