नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय: विराटनगरमा दुई जना पक्राउ

नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय: विराटनगरमा दुई जना पक्राउ


मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। 

नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो। 

रेम्डेसिभिर गम्भीर प्रकृतिका र कडा लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचारमा निक्कै प्रभावकारी मानिएको औषधि हो। तर गिरोहले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेभल लगाएर बिक्री गर्ने गरेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

उनका अनुसार एन्टिबायोटिक र रेम्डेसिभिरको बोतलको साइज (आकार) एउटै हुन्छ। त्यसको फाइदा उठाउँदै गिरोहले स्टिकर लगाएर रेम्डेसिभिरसँग ठ्याक्कै मिल्ने गरी तयार पारेर बिक्री गर्दै जीवनमरणको दोसाँधमा छटपटाइरहेका संक्रमितको जीवनलाई थप जोखिममा पार्ने काम गरिरहेको खड्काले बताए। उनका अनुसार नयाँ लेबल लगाएपछि एन्टिबायोटिकका बोतल पनि रेम्डेसिभिरजस्तै देखिन्छ। 

प्रहरीको लामो मिहिनेतपछि नक्कली रेम्डेसिभिर तयार पारेर बेच्ने गिरोहका दुईजना विराटनगरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१० का २६ वर्षीय सोनु आलम र विराटनगर-१६ का २३ वर्षीय श्रवणकुमार यादव रहेका छन्। एसपी खड्काका अनुसार विराटनगर-४ स्थित नोबेल शिक्षण अस्पतालनजिक आलमको साथी फार्मेसी नामक औषधि पसल छ। यादव फार्मेसीका कामदार हुन्। 

आलमले लेबल लगाएर तयार पारेको नक्कली रेम्डेसिभिर यादवले फार्मेसीबाट बिरामीका लागि बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। अहिले विराटनगरमा रेम्डेसिभिरको अभाव छ। कोरोना महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरले रेम्डेसिभिर अभावको सामना गरिरहेको औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष एवं प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए। उनका अनुसार नेपालमा अभाव भएपछि भारतबाट अवैध रुपमा ल्याएर कालोबजारी गर्दै अत्याधिक धेरै मूल्य लिएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ।

कालोबजारी गर्ने गिरोह खोज्दै हिँडेको प्रहरी नक्कली रेम्डेसिभिरको कारोबारीसम्म पुग्न सफल भएको हो। ‘वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर बिक्री गर्ने गरेको पाइयो,’ एसपी खड्काले भने, ‘यो गिरोहले नक्कली रेम्डेसिभिरलाई प्रति भायल न्यूनतम आठ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको देखिन्छ।’ नक्कली स्टिकर भने भारतको पटनाबाट ल्याउने गरेको पाइएको छ। यो गिरोहको सञ्जाल विराटनगरमा ठूलै रहेको पाइएको उनको भनाइ छ। अन्नपूर्णबाट

Logo