विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनको प्रारम्भिक काम सुरु

विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनको प्रारम्भिक काम सुरु


विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ। सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। गत चैतमा निर्माणको सम्झौता भएको थियो।

निर्माण जिम्मा पाएको चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलाजीले चार्जिङ स्टेनसन निर्माण गरी चार्जिङ मेसिन जडान गर्नेछ। सर्भेपछि चीनबाट मेसिन ल्याउने तयारी भइरहेको तर कोरोना महामारीको निषेधाज्ञाले प्रभावित भइरहेको प्राधिकरणका परियोजना प्रबन्धक सागर ज्ञवालीले बताए। कोरोनाका कारण निर्माणस्थलमा गएर गर्नुपर्ने कामहरू प्रभावित भएका छन्।

सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गरेपछि प्राधिकरणले चार्जिङ स्टेसन निर्माण अघि बढाएको हो। प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा ५० वटा स्टेसन निर्माणका लागि ३८ करोड रुपियाँमा निर्माण सम्झौता गरेको हो। एक वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता छ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ। ५० स्टेसनमध्ये सात प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकता अनुसार पूर्व–पश्चिम राजमार्गमा राखिनेछ। १२० किलोवाट र ६० किलोवाटसम्मका सवारी साधनका लागि छुट्टाछुट्टै चार्जिङ सुविधाको व्यवस्था गरिनेछ।

साधारण चार्जर प्रविधिले एउटा सवारी साधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्दछ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारी साधन बढीमा डेढ घण्टामा चार्ज हुनेगरी स्टेसन निर्माण हुने प्राधिकरणले जानएको छ । पूर्ण चार्ज भएका सवारी साधन ३५० किलोमिटरसम्म गुड्न सक्छन्।

सडकमा गुडिरहेका विद्युतीय सवारी साधनले मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सक्नेछन्। स्टेसनमा कार्ड वा अनलाइनबाट भुक्तानी गरिसकेपछि गाडी चार्ज गरिनेछ । भुक्तानी गरेको रकम बराबरको चार्ज भइसकेपछि उक्त सवारी साधन थप चार्ज हुँदैन।

५० वटै स्टेसनको नियन्त्रण काठमाडौँबाटै हुनेछ। स्टेसनमा यात्रुका लागि रेस्टुरेन्ट, खेल मैदान, शौचालयलगायतका संरचना पनि निर्माण हुनेछ। यात्रुको खाना, नास्ताको समयमा सवारी साधन चार्ज गर्न सकिनेछ।गोरखापत्रबाट

Logo