फर्कन नपाएका पर्यटकलाई भिसा शुल्क छुट

फर्कन नपाएका पर्यटकलाई भिसा शुल्क छुट


पर्यटक भिसामा आएर स्वदेश फिर्ता हुन नपाई रोकिएका विदेशी नागरिकलाई सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएसम्म जरिवाना, विलम्ब र भिसा शुल्क बापतको रकम छुट दिने भएको छ ।

गत वैशाख १५ सम्म भिसा नियमित गरे पनि उडान बन्द भएकाले रोकिएका विदेशीलाई विलम्ब शुल्कबापत प्रतिदिन ५ डलर र भिसा शुल्क ३ डलर र जरिवानामा समेत छुट दिने भएको हो । तर हवाई यातायात खुलेर नेपालमै बस्न चाहने विदेशीको हकमा भने निषेधाज्ञा अवधिको सबै शुल्क र जरिवाना रकम पनि असुलिने अध्यागमन विभागले जनाएको छ ।

वैशाख २४ मा विभागले सूचना जारी गर्दै ‘वैशाख १५ सम्म वैध पर्यटक भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने गरी १ सय ५० दिनअन्तर्गत गणना गर्ने’ भनेको थियो ।

एक वर्षमा एक जना पर्यटकले बढीमा १ सय ५० दिनको भिसा पाउने व्यवस्था छ । बन्दाबन्दीको अवधिलाई त्यसैमा गणना गर्ने भनेको थियो तर केही देशका लागि हवाई उडान खुले पनि बन्दाबन्दी अझै कायम रहेका कारण यो सुविधालाई अर्को आदेश नभएसम्म्का लागि निरन्तरता दिइएको हो ।

‘कोरोना महामारी रोकथामका लागि निषेधाज्ञासँगै हवाई उडान स्थगनअघिसम्म भिसा नियमित भएर पनि फिर्ता जान नपाएका विदेशीलाई उडान खुला नभएसम्मको भिसा एवं विलम्ब शुल्क नलिने निर्णय भएको थियो,’ अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, ‘पछिल्लो समय केही देशका लागि उडान खुला भए पनि यो पर्याप्त छैन । त्यसलाई समेत मध्यनजर गरेर हवाई सेवा आवागमन सहज नभएसम्म विदेशी पर्यटकका लागि गत महिना जारी आदेश–निर्णय निर्णयलाई नै निरन्तरता दिइनेछ ।’

२०७८ वैशाख २३ मा गृहमन्त्रीस्तरीय निर्णयका आधारमा अध्यागमन विभागले वैशाख १५ सम्म भिसा नियमित गरेका तर हवाई उडान बन्द भएका कारण स्वदेश फिर्ता हुन नपाएका विदेशी पर्यटकका लागि दैनिक तिर्नुपर्ने भिसा शुल्क ३ अमेरिकी डलर र विलम्ब शुल्क ५ डलर छुट दिने निर्णय भएको थियो । तर यो सुविधा निषेधाज्ञा जारी भएको मितिबाट लागू हुने गरी हवाई उडान सुचारु भएको मितिले १ साताभित्र स्वदेश फर्कन चाहने विदेशीका लागि मात्रै रहेको महानिर्देशक भट्टराईले स्पष्ट पारे ।

बन्दाबन्दीको अवधिलाई पर्यटक भिसाका लागि दिइने एक वर्षमा १ सय ५० दिनलाई नै आधार मानिनेछ । तर हवाई उडान खुलेर नेपालमै बस्न चाहेको खण्डमा त्यस्ता विदेशीले निषेधाज्ञा अवधिको पर्यटक शुल्क भने तिर्नुपर्नेछ । बन्दाबन्दीका क्रममा पर्यटक भिसामा कोही अपवादका रूपमा आएको रहेछ भने पनि उसलाई छुट सुविधा लागू नहुने उनले बताए ।

बन्दाबन्दीअगावै भिसा सकिएर ओभरस्टे भएका पर्यटकलाई पनि कुनै पनि किसिमको छुट दिइने छैन । ओभरस्टे, विलम्ब शुल्क र पर्यटक तीनवटै शुल्क असुलिनेछ । सरकारले जेठ १८ बाट सातामा ५ दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरिसकेको छ । तर यसबाट मात्रै पर्यटकलाइ सहज रूपमा गन्तव्यसम्म जान कठिन हुने भएर शुल्कसम्बन्धी केही लचिलो बन्नुपरेको महानिर्देशक भट्टराईले स्पष्ट पारे ।

उनका अनुसार हवाई यातायात सहज नभएकै कारण विभिन्न कसुरमा निष्कासनमा परेका एवं अदालतबाट कैद भुक्तान गरेर फिर्ता गर्नुपर्ने देखिएका विदेशीलाई पनि पठाउन नसकिएको उनले बताए । हवाई आवागमन सहज हुनेबित्तिकै डिपोर्टमा परेकालाई फिर्ता गरिने उनले बताए । कान्तिपुर दैनिकमा समाचार छ । 

Logo