देउवाले मुख खाेले, ‘एक पटक फेरि सभापतिमा लड्छु’

देउवाले मुख खाेले, ‘एक पटक फेरि सभापतिमा लड्छु’


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् ।

सभापति देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का आफूनिकट नेताहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे मुख खोलेका हुन् ।

सो क्रममा देउवाले महाधिवेशन निर्धारित मितिमा नै हुने र आफू पार्टीको नेतृत्वका लागि सभापतिमा एकपटक पुनः उठ्ने बताए ।

‘पार्टीको महाधिवेशन अब तोकिएकै मितिमा हुन्छ, यसमा कुनै दुईमत छैन, म सभापतिमा उठ्छु, आउने चुनावमा पार्टीलाई पहिलो बनाउने चुनौती छ, सबैले सहयोग गर्नेगरी वातावरण बनाउनुस्,’ देउवाले राखेको धारणाबारे जानकारी दिँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने ।

बिहान प्रदेश १ का नेताहरूलाई भेटेका देउवाले दिउँसो भने उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका थिए ।

सो छलफलमा समेत देउवाले आफू महाधिवेशनमा सभापतिका लागि भिड्ने बताएका थिए।देउवाको सो भनाइपछि उपसभापति निधिले पनि सभापतिमा आफू पनि उठ्ने जानकारी देउवालाई गराएका थिए ।

‘यसपटक मलाई सभापतिमा सघाउनुस्, तपाईं प्रधानमन्त्री बन्नूस्, मैले पहिले पनि भन्दै आएको छु, तपाईंकै समर्थनमा म लड्छु,’ निधिले सभापति देउवालाई आग्रह गर्दै भनेका थिए।

सो क्रममा देउवाले भने निधिको प्रस्तावलाई सहजरूपमा लिएका थिएनन् । देउवाले निधिलाई ‘उठ्ने भए ठिकै छ, उठ्नुस्’ भन्ने आसय दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए। सो छलफलमा नेता आनन्द ढुंगाना, जंगीलाल रायसहितका नेता सहभागी थिए।

कांग्रेसले शुक्रबार मात्र पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकमार्फत अनुमोदन गरेको थियो।

जसअनुसार गाउँ/नगर वडा अधिवेशन १२ साउन, गाउँ/नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुनेछ। यस्तै केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुने तय भएको छ।राजधानीबाट

Logo