ओली राजाको बाटोमा हिँडे, ठाकुर र महतो बेदानन्द झाको बाटोमा: उपेन्द्र यादव

ओली राजाको बाटोमा हिँडे, ठाकुर र महतो बेदानन्द झाको बाटोमा: उपेन्द्र यादव


जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई राजाहरुको बाटोमा तथा महन्थ ठाकुर र राजेन्द्र महतोलाई बेदानन्द झाको बाटोमा हिँडेको आरोप लगाएका छन्।  

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले त्रिभुवन, महेन्द्र र ज्ञानेन्दको बाटोमा हिँडेका ओलीको पिछलग्गु बनेका ठाकुर र महतो झाको नयाँ भूमिकामा पुगेको बताए।

पार्टी कार्यकर्तासहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्न अस्पताल पुगेका यादवले इतिहास सम्झाउँदै भने, ‘राजा त्रिभुवनले २००७ सालपछि संसद बन्न दिएनन्। उनका छोरा राजा महेन्द्रले १८ महिनामा नै २०१७ सालमा संसद समाप्त पारेर दलहरूमाथि प्रतिबन्ध लगाई निरंकुश शासन चलाए।’

लामो संघर्षपछि प्राप्त भएको संसदीय व्यवस्थामाथि पुनः महेन्द्रका छोरा ज्ञानेन्द्रले प्रहार गरेर ‘कु’ गरेको बताउँदै अध्यक्ष यादवले अहिले प्रधानमन्त्री ओलीले पनि राजाले झैं संसद भंग गरेर स्वेच्छाचारी शासन चलाउन खोजेको आरोप लगाए। लोकतन्त्रमाथि प्रहार गर्ने ओलीको मतियार बनेर ठाकुर र महतोले बेदानन्द झाको नयाँ भूमिका निर्वाह गरेको उनले बताए। 

उतिबेला मधेसको शक्तिका रुपमा रहेको एक मात्र नेपाल तराई कांग्रेस पार्टीका अध्यक्ष बेदानन्द झाले २०१७ सालमा आफ्नो पार्टीलाई राजा महेन्द्रसमक्ष सुम्पेर गृहमन्त्री र राजदुत बनेको इतिहास यादवले सम्झिए। यादवले ठाकुर र महतोलाई झाकै संज्ञा दिँदै प्रतिगमनको सहयोगी बन्नुलाई स्वभाविक बताए।

यादवले चेतावनीका स्वरमा भने, ‘तर यो २०१७ साल होइन्, सञ्चारमाध्यम, सामाजिक सञ्जाल सशक्त भएको छ, राजनीतिक चेतनाको विकास भएको छ।’ प्रतिगमनको मतियार बनेर आफ्नै साथीहरुले कंलकित बन्ने काम गरेको भन्दै यादवले प्रतिगमनका मतियारसँग एकता भन्दा संघर्ष नै हुने बताए। उनले पुनः राजनीतिमा असम्भव केही नहुने भन्दै प्रतिगमनको सहयोगी बनेका ठाकुर र महतो सुध्रिएर परिवर्तनलाई आत्मसात गरी आत्मलोचना गरेर अग्रगमनको बाटोमा आएमा एकताको सम्भावना पनि रहेको बताए। अन्नपूर्णबाट

Logo