संसद् विघटनसम्बन्धी मुद्दाको बहस सकिएकै दिन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

संसद् विघटनसम्बन्धी मुद्दाको बहस सकिएकै दिन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक


निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको दुवै चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ८ जेठमा प्रतिनिधिसभा विघटन गरेर मिति तोकेपछि त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएकै दिन आयोगले ३१ असारदेखि लागू हुने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका पदाधिकारीको सोमबार बसेको बैठकले २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्तादेखि मत गणनासम्मको तालिका सार्वजनिक गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । सार्वजनिक गरिएको कार्यतालिकाअनुसार आयोगले ३१ असारदेखि १५ साउनसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार पारेको छ ।

प्रतिनिधिसभाको पहिलो चरणमा २६ कात्तिकमा हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी मनोनयनका लागि २० र २१ असोज गरी दुई दिनको समय तोकेको छ । २१ असोजमा नै उम्मेदवारको सूचीसमेत प्रकाशन हुने आयोगको तालिकामा उल्लेख छ । यस्तै, २२ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ भने २३ र २४ असोजमा मनोनयनपत्र तथा उजुरीउपर कारबाही गर्ने समय तोकिएको छ । साथै आयोगले २४ असोजमा नै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

त्यसपछि २५ असोजमा नै उम्मेदवारलाई नाम फिर्ताका लागि समय दिने र अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्नसमेत प्रदान गर्ने कार्यतालिका रहेको छ । त्यसको एक महिनापछि २६ कात्तिकमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पहिलो चरणको मतदान हुनेछ ।

तालिकाअनुसार दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता ३१ असोजमा हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएको र सूची प्रकाशन १ कात्तिकमा हुनेछ । त्यसपछि २ कत्तिकमा उम्मेदवारविरुद्ध उजुरी दिन सकिने र ३ र ४ कात्तिकमा उक्त उजुरी र मनोनयनमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यस्तै, ५ कात्तिकमा उम्मेदवारी फिर्ता लिने र सोही दिन नै अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने बताइएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Logo