वायुसेवा निगम ‘माफिया’ लाई दिन लागियो !

वायुसेवा निगम ‘माफिया’ लाई दिन लागियो !


सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम माफियालाई सुम्पन लागिएको भन्दै वायुसेवा निगमका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेका कदमको विरोध गरेका हुन् ।

कर्मचारीहरुले कामचलाउ सरकारले हतार हतारमा सरकारको सम्पति माफियालाई सुम्पन लागेको र नेपालको गौरवशाली इतिहास मेट्न खोजेको भन्दै यो कार्य तत्काल रोक्न माग गरेका छन् । निगमको हितमा काम गर्नुपर्ने महाप्रबन्धक डिमप्रसाद पौडेलले सरकारको मिलेमतोमा माफियाको हितमा काम गरेको भन्दै उनीहरुले महाप्रबन्धकको तत्काल राजीनामाको समेत माग गरेका छन् ।

सरकारले नेपाल वायुसेवा निगमलाई जनतामा लैजान भनेर भ्रम छरेर माफियालाई सुम्पने खेल खेलेको उहाँहरुको आरोप छ । कर्मचारीलाई कुनै कुरा नै थाहा नदिई यत्रो कम्पनी तीन दिनको छोटो समयमा प्रबन्धपत्र तयार बनाई ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिनेलगायत प्रावधान राख्नुले सिधै माफियालाई सुम्पन खोजेको पुष्टि हुन्छ संघर्ष समितिले भनेको छ ।

‘यदि सही नियतले पब्लिकमा जान लागेको हो भने तयार भएको प्रबन्धपत्रमा सरकारको भूमिका किन प्रष्ट पार्न सकिएन ? किन ५१ प्रतिशत संस्थापक शेयरमा सरकारको नाम राख्न सकिएन ? कर्मचारीले भनेका छन्, निगमलाई निजिकरण गरिनबाट रोकिनु पर्छ ।’

करोडौं पैसा तिरेर हुने निगमको महाप्रबन्धकको राजनीतिक नियुक्ति निगमका लागि घातक भएको भन्दै यस्तो व्यवस्थासमेत तुरुन्त खारेज गर्न आन्दोलनकारीहरुको माग छ । करोडौं पैसा तिरेर महाप्रबन्धक बन्न आएको र त्यही लगानी उठाउन खोज्दा निगम घाटामा समेत जाने गरेको उनीहरुको तर्क छ ।

भित्रभित्रै निगमलाई निजिकरण गर्ने थाहा पाएलगत्तै महाप्रबन्धकलाई जिज्ञासा राख्दा त्यसो नभएको जवाफ आएको, तर महाप्रबन्धककै हस्ताक्षर गरिएको प्रबन्धपत्र फेला परेपछि जिज्ञासा राख्दा काम अघि बढिसकेको भन्दै यस विषयमा जे मन लाग्छ गर भनेजस्ता जवाफ आएपछि संघर्षमा उत्रिनुपरेको कर्मचारीको भनाइ छ । समाचारपत्र दैनिकमा समाचार छ । 

Logo