जसपा एउटै राजनीतिक एजेण्डामा

जसपा एउटै राजनीतिक एजेण्डामा


जनता समाजवादी पार्टी जुन मुद्दाका कारण विभाजित थियो, अहिले त्यही मुद्दाले एक ठाउँमा आइपुगेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी महन्थ ठाकुर पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै जसपाका दुवै खेमा एउटै राजनीतिक एजेण्डामा आइपुगेका हुन् ।

ओली नेतृत्वको सरकारमा सहभागी भएदेखि जसपा विभाजनउन्मुख छ । उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा गएपछि ठाकुर पक्षले प्रतिदाबी पेस गरेको थियो । यस विषयमा छिनोफानो गर्न निर्वाचन आयोगले इजलास गठन गरेर आइतबारदेखि सुनुवाइ गरिरहेको छ ।

प्रतिनिधिसभा दोस्रो पटक विघटन हुनुअघि ठाकुर पक्षमा २० र यादव पक्षमा १२ सांसद थिए । बहुमत सांसदका आधारमा ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो । केन्द्रीय कार्यकारिणी समितिमा भने यादव पक्ष बहुमतमा थियो ।

प्रतिनिधिसभा पुन: स्थापनापछि ठाकुर पक्षका ८ सांसद यादव पक्षमा गएका छन् । अहिले यादव पक्षमा २० सांसद र ठाकुर पक्षमा १२ सांसद छन् । ‘हामीले प्रतिनिधिसभा विघटनका लागि ठाकुर पक्षलाई साथ दिएका थिएनौं, हाम्रो हस्ताक्षर दुरुपयोग गरेर तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनका लागि समर्थन दिएकाले गम्भीर असन्तुष्टि थियो,’ प्रमोद साहले भने, ‘फेरि हाम्रो हस्ताक्षर दुरुयोग हुन सक्ने देखेर अर्को समूहमा आएका हौं ।’

ठाकुर पक्षको ‘युटर्न’ सँगै जसपामा एकताको चर्चा समेत हुन थालेको छ । जसपा अध्यक्ष यादवले ठाकुर पक्षले लिएको बाटो गलत थियो भन्ने पुष्टि भएको बताए । ‘जसपा अहिलेसम्म दुइटा छैन । उहाँहरू (ठाकुर पक्ष) ले बाटो बिराउनुभएको थियो । गल्ती महसुस गरेर आउनु भएको छ,’ यादवले भने । यादव पक्षले गल्ती महसुस गरेर फर्के एकता हुन सक्ने संकेत गरेको छ ।

ठाकुर पक्षमा रहेका नेता राजकिशोर यादवले पनि पार्टी एकता हुन सक्ने बताए । ‘हिजो गल्ती जजसबाट भए पनि अब पार्टी एकतामा लाग्नुपर्छ,’ उनले भने, ‘मेरो भूमिका अहिले त्यसैमा छ ।’ यसअघि ओली नेतृत्वको सरकारमा मन्त्री भएका यादव ठाकुर पक्षले निर्णय गर्नुअघि नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णयमा पुगिसकेका थिए । कान्तिपुर दैनिकमा समाचार छ । 

Logo