बलात्कार घटना मिलापत्र गराउने जनप्रतिनिधि पक्राउ

बलात्कार घटना मिलापत्र गराउने जनप्रतिनिधि पक्राउ


बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ वर्षीय पुरुषसहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरी अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा सो घटना गाउँघरमै मिलापत्र गराएको आरोपमा सोही गाँउका वडा सदस्य हिमबहादुर बिष्टसमेतलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २ गते बिहान ३ बजेको समयमा घटनापश्चात् पीडित महिला कराएपछि ससुराले थाहा पाएका थिए । प्रहरीका अनुसार पीडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिमबहादुर बिष्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए ।

वडा सदस्यले गाउँमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए । साउन ३ गते करिव १ बजेतिरबाट छलफल सुरु भएको थियो । छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरेका थिए । छलफलमा जुटेकाहरुले पीडकलाई बीस हजार रुपैँया जरिवाना तोके । जसमध्ये पाँच हजार पीडित महिलाको लागि र बाँकी पन्ध्र हजार रुपैयाँ गाउँको एक कुनै कोषको लागि छुटाउनेसमेत निर्णय भएको थियो ।

प्रहरीका अनुसार पीडितले पाउने ५ हजारमध्ये एक हजार बराबर छलफलमा जुटेकाहरुले चियापानी खाने भनी छुटाए भने पाँचसय पीडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने भयो । पीडितले त्यसै गरिन् तर उनले न्याय पाएको अनुभुति गरिनन् ।

उनले आफ्नो बाबालाई सबै घटनाको बारेमा बेलिबिस्तार लगाइन् । भोलिपल्ट साउन ४ गते प्रहरी समक्ष यो घटनाको सूचना पुग्यो । पीडितको जाहेरीका आधारमा अभियुक्त भनेका पीडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्‍यो ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बलात्कार गर्ने आरोप लागेका जेठाजु पुर्पक्षका लागि जेल चलान भएका छन् भने वडासदस्यलाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ । अन्य ससुरासहित तीन जनालाई ३० हजार धरौटी ४ जनालाई ६० हजार धरौटी लिएर छोडिएको छ । नागरिक दैनिकमा समाचार छ । 

Logo