ओली र नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्नेमा ओली असहमत

ओली र नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्नेमा ओली असहमत


प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ । निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन ।

आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको मागमा ओली असहमत हुँदा विवाद निरूपणमा समस्या आएको हो ।

‘एमालेभित्र पार्टी अध्यक्ष ओली सरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ,’ एमाले स्रोतले भन्यो । आफू दोस्रो अध्यक्ष नहुने तर आफू निकट कार्यकर्तामाथि भेदभाव हुन सक्ने र जसको नकारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्यायमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए ।

एमाले विधानले दोस्रो अध्यक्ष नचिन्ने भएकाले पार्टीभित्रको विवाद मिलाउने कुरामा कार्यदलले तय गर्ने तर केन्द्रमा भने समान हस्ताक्षर आवश्यक रहेको नेता नेपालको भनाइ रहँदै आएको छ । कोही पनि अन्यायमा नपरून् भन्ने नेता नेपालको चाहना रहेकाले त्यस्तो सर्त अघि सारिएको उनी निकट एक नेताले बताए । तर ओली र उनको समूहमा रहेका केही नेताले सो विषयलाई नरुचाएको बताइएको छ । नागरिक दैनिकमा समाचार छ। 

Logo