दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण

दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण


दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए ।

त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो । पहिले त उनले खोपको असर होला भन्ने लाग्यो । तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो । उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए । एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो । सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन् । तर, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखियो ।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि कोरोना नलाग्ने, लागे पनि धेरै असर नगर्ने विश्वास आममानिसमा छ । यी दुई युवालाई पनि त्यस्तै लाग्थ्यो । ‘तर, खोप लगाएको भए पनि कोरोना संक्रमण हुने रहेछ’ उमेश दाहालले आफ्नो अनुभव सुनाउँदै भने, ‘खोप लगाएको छु भनेर ढुक्क हुन नहुने रहेछ ।’

लक्षणहरू खोप नलगाएको मानिसलाई जस्तै देखिएको र असर पनि उस्तै पारेको उनीहरू बताउँछन् । फागुनमा पहिलो र जेठ २१ गते कोभिसिल्डको दोस्रो मात्रा पूरा गरेर पनि असार ९ गते दोस्रो पटक कोरोना पोजेटिभ देखिएका इटहरीका लोचन पौडेलको पनि यस्तै अनुभव छ ।

‘खोप लगाएको छु । केही हुँदैन होला भनेर आत्मबल चाहिँ बढे जस्तो हुने रहेछ,’ उनले भने । उनलाई यसअघि पनि गत मंसिरमा कोरोना पोजेटिभ देखिएको थियो । केही दिन घरमा आराम गरेपछि निको भएर काममा फर्किएका थिए । तर, दुवै पटकको कोरोना संक्रमणमा स्वाद हराउने, जिउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Logo